एमालेसंग एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो: डा. भट्टाराई - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

एमालेसंग एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो: डा. भट्टाराई



नेपालगञ्ज नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमालेसँग एकता गर्ने माओवादी केन्द्रको तयारीलाई आत्महत्याको संज्ञा दिएका छन् ।

नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५, कर्णाली प्रदेश र प्रदेश ७ को संयुक्त प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रले एमालेसँग गर्न लागेको एकता ‘आत्महत्या’ बराबर हुने बताएका हुन् । उनले प्रचण्डले माओवादीमा फर्किन गरेको आग्रहतर्फ संकेत गर्दै प्रचण्डलाई आफैँ आत्महत्या गर्न सुझाव दिए ।

‘एमाले माओवादीको एकता प्रचण्डको आत्मसमर्पण होइन, आत्महत्या हो’, उनले भने, ‘आत्महत्या नै गर्नु छ त प्रचण्डजीले आफैं गरे भयो, किन मलाई बोलाइरहनुभएको छ ? मैले बुझ्न सकिरहेको छैन ।’

नयाँ शक्ति पार्टी ‘दूध’ भएकोले ‘पानी’ बराबरका पुराना पार्टीहरुसँग ध्रुवीकरणमा नजाने भन्दै नयाँ शक्ति माओवादीमा नमिसिने प्रष्ट पारे । ‘हामी दूध हौं, अरु पानी हुन् अरुमा मिसिन जाने भनेको पानीमा दूध मिसाउनु जस्तै हो, जसको अर्थ हुँदैन’, उनले भने, ‘बरु अलिकति दूधको मात्रा बढाएर, केही थोरै मात्रामा सफा पानी दूधमा थप्न सकिन्छ ।’

राजनीतिलाई नयाँ दिशा दिनकै लागि नयाँ शक्तिको जन्म भएको दाबी गर्दै आफुहरु विकास र समृद्धिको क्रान्तिमा लागेको दाबी गरे ।