सरकारले गरेका कामप्रति प्रचण्ड असन्तुष्ट - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

सरकारले गरेका कामप्रति प्रचण्ड असन्तुष्ट



काठमाडौँ – सरकारका कामबारे पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रचण्डले सरकारका काममा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

अध्यक्ष दाहालले आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढी पीडितहरुसँगको भेटमा सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणा अनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले भने, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद संकटग्रस्त जिल्ला त घोषणा गर्‍यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन? भन्दा अझै पनि ती गतिविधिहरु त्यहीँ अनुसारको तीव्रताका साथ अगाडि बढेको छैन । त्यसैकारण तपाईँहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनु परेको भन्ने मलाई लाग्दछ ।’

अध्यक्ष प्रचण्डले सो क्षेत्रका बाढी पीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । उनले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढी पीडितलाई सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तन लगायतले पनि भूमिका खेलेको हुन सक्ने दावी गर्दै त्यसलाई न्यूनिकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्र संघलगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने उनको भनाई थियो ।