संसद बैठक बस्नै लाग्दा प्रचण्ड र सभामुखबीच अर्थपूर्ण छलफल
काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।
संसद भवन नयाँबानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुअघि माओवादी अध्यक्ष प्रचण्ड र सभामुख सापकोटाबीच भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच अमेरिकी सहायता परियोजना एमसीसीबारे छलफल भएको हो ।
सत्तारुढ गठबन्धनको आइतबार बिहान बालुवाटारमा बसेको बैठकले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेको थियो । माओवादी केन्द्रले एमसीसी संसदमा टेबल गर्न दिने र मतदान भए विपक्षमा मत हाल्ने निर्णय गरिसकेको छ ।
सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्ने सहमति भएपछि दिउँसो १ बजे बस्ने संसद बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिको बैठक सभामुख सापकोटाले बोलाएका हुन् । कार्यव्यवस्था समितिले संसद बैठकको कार्यसूची तय गर्छ । त्यसअघि प्रचण्डले सभामुख सापकोटासँग छलफल गरेका हुन् ।
सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित छ ।