ओलीका हिन्दु गतिविधिप्रति प्रचण्डले जनाए गम्भिर आपत्ति - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

ओलीका हिन्दु गतिविधिप्रति प्रचण्डले जनाए गम्भिर आपत्ति



काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष नभएर हिन्दु महासंघको अध्यक्ष भएको आरोप लगाएका छन् ।

प्रचण्डले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भनेका छन्, ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको?’ अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले यस्तो बताए ।

प्रचण्डले ओली कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ? भन्ने प्रश्न उनी आफैले उठाएको समेत बताए ।

प्रधानमन्त्री ओलीका पछिल्ला गतिविधिले यस्तो पुष्टि गर्ने प्रचण्डले बताउँदै उनले भने, ‘उहाँ पशुपति जानुभएकोमा हाम्रो आपत्ति छैन , उहाँ पशुपति जान पाउनुहुन्छ, बत्ती बाल्न पाउनुहुन्छ । तर संविधान मिच्न पाइएन ।’

हालै चितवनमा पुगेर ओलीले आफूलाई अध्योध्याबारे किन नबोलेको भनेर प्रश्न गरेको स्मरण गर्दै प्रचण्डले त्यसको जवाफ पनि दिए । ‘यदि नेपालमा राम जन्मिएको प्रमाणित हुन्छ, धार्मिक पर्यटकीय स्थल बन्छ भने म भन्दा खुसी अर्को को होला ?’ उनले भने, ‘केपीजीलाई मेरो चुनौती के छ भने पुरातात्विक अन्वेषण गर्ने, राम नेपालको अध्योध्यामा जन्मिएको प्रमाणित गर्न सिन्को भाँच्नु भएको छैन । अहिले जे गर्नु भएको छ, त्यो स्टन्ट मात्र हो ।’

कार्यक्रममा प्रचण्डले आफूहरू राज्य धर्म निरपेक्ष हुनुपर्छ भन्ने लाइनमा भएपनि जनताको धार्मिक आस्थाको सम्मान गर्ने बताएका थिए ।