सेयर बजार र रियल इस्टेटप्रति प्रचण्ड आक्रामक: अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

सेयर बजार र रियल इस्टेटप्रति प्रचण्ड आक्रामक: अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् । यसअघि पनि शेयर बजारलाई साम्राज्यवादी शैली भनेका उनले आफ्नो प्रतिवेदनमै यो समेटेका छन् ।

आठौं महाधिवेशनमा पेस गरेको उनको राजनीतिक दस्तावेजमा सेयर बजार र रियल इस्टेटप्रति आक्रामक देखिएका हुन् । नयाँ कार्य दिशामार्फत माओवादी आन्दोलन अगाडी बढाउने भनेका प्रचण्ड सेयर बजार र रियल इस्टेटप्रति आक्रामक देखिएपछि यसले बजारमा थप हलचल पैदा गर्ने देखिएको छ ।

उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, “दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायतले पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरुको आम चरित्र बनेको छ । उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् ।”

उनले भनेका छन्, “वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरुको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो । उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै मेहनत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरुले अरुको सम्पत्ति हडपेर छोटो स मयमा अकूत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन् ।”