प्रचण्ड आफैले गरे निर्वाचन आचारसंहिता उल्लंघन
काठमाडौँ — नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित प्रचार सामाग्री तयार गरेको छ । माओवादीले आफ्नो चुनावी पोस्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिरसमेत राखेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष दाहालसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको छ ।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ ।
तर माओबादीले अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको उक्त पोस्टरमार्फत माओवादीले लोडसेडिङ अन्त्यलाई आफ्नो ठूलो सफलताका रूपमा चित्रण गरेको छ । साथै अब नि:शुल्क बिजुलीको अभियानलाई अगाडि बढाउनेसमेत माओवादीले जनाएको छ ।
निर्वाचन आचारसंहिता २०७८ मा भने सरकारी कर्मचारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन रोक लगाइएको छ । कार्यकारी निर्देशक घिसिङले भने आफ्नो सहमतिबिना तस्बिर राखिएको प्रतिक्रिया दिएका छन् । ‘मेरो तस्बिर नराख्नु भनेको थिएँ । मेरो सहमतिविपरीत उहाँहरूले तस्बिर राख्नु भएछ । त्यसमा मेरो विमति छ,’ घिसिङले भनेका छन् ।
यसअघि माओवादीले आफ्ना चुनावी प्रचार सामग्री अध्यक्ष दाहालका साथै माओ,लेनिनलगायतका तस्बिर राखे पनि यस पटक भने विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको तस्बिर राखेको हो ।
माओवादी अध्यक्ष दाहाल दोस्रो पटक प्रधानमन्त्री भएका बेला घिसिङलाई पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो । घिसिङले पनि तत्कालीन प्रधानमन्त्री र ऊर्जामन्त्री जनार्दन शर्माको साथ र सहयोगले नै लोडसेडिङ अन्त्य गर्न सफल भएको बताउँदै आएका छन् । दोस्रो पटक २०७८ साउनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादीकै आग्रहमा घिसिङलाई पुन: कार्यकारी निर्देशमा नियुक्त गरेको हो । घिसिङ २०७३ मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा दैनिक १२ घण्टासम्म लोडसेडिङ थियो ।
कार्यकालको पहिलो वर्षमा काठमाडौं उपत्यका र दोस्रो वर्षमा देशैभर लोडसेडिङ अन्त्य गराएका उनी त्यसयता लगातार चर्चाको केन्द्रमा छन् । आफूले नेतृत्व सुरु गर्दा ३५ अर्ब सञ्चिति घाटामा रहेको प्राधिकरणलाई आफ्नो कार्यकालको अन्तिम वर्षमा उनले सरकारी संस्थानमध्ये सबैभन्दा बढी नाफा कमाउने निकाय बनाएका थिए । घिसिङले आफ्नो चारवर्षे कार्यकालमा विद्युत् चुहावटलाई २६ बाट १५ प्रतिशतमा झारेका थिए ।
माओवादीले लोडसेडिङ हटेको विषयलाई मात्र नभएर कुलमान घिसिङलाई समेत चुनावमा ब्रान्डिङ गर्ने प्रयास गरेको छ । केही दिनअघि चितवनमा विद्युत् सबस्टेसन उद्घाटनमा घिसिङकै सामू अध्यक्ष दाहालले ‘योग्य अफिसरलाई प्राधिकरणको प्रमुख नियुक्त गर्दा देश लोडसेडिङमुक्त’ भएको बताएका थिए ।
‘हाम्रै पहलमा देशमा विद्युतीकरणसम्बन्धी योग्य अफिसरलाई विद्युत प्राधिकरणको कार्यकारी प्रमुख बनाएपछि मानिसहरूलाई आश्चर्य जस्तो भयो । केही महिनाभित्र नेपाल लोडसेडिङबाट आक्रान्त देश लोडसेडिङमुक्त भयो ।
त्यहाँबाट यहाँसम्म आइपुग्दासम्म लोडसेडिङमुक्त मात्रै होइन विद्युत् बेच्ने अवस्थामा आइपुग्यो । म हामीले लिएको निर्णयप्रति गर्व गर्न चाहन्छु र यो क्षेत्रमा योगदान गर्नेप्रति आभार व्यक्त गर्न चाहन्छु,’ दाहालले भनेका थिए ।