प्रचण्डले भने: यो सबै गिराजाबाबुको देन हो ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रचण्डले भने: यो सबै गिराजाबाबुको देन हो !



पोखरा : विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको छ। यही सम्झौताका लागि कास्कीको मादी गाउँपालिकास्थित सिक्लेसले महत्वपूर्ण इतिहास कोरेको छ। जहाँबाट द्बन्द्बको नेतृत्व गरेका प्रचण्ड र सरकारका तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाको पहिलो औपचारिक भेट गरायो। सोमबार त्यही सिक्लेस गाउँमा पुगेर प्रचण्ड र सिटौलाले त्यो बेलाको घटना स्मरण गरेका छन्।

प्रचण्ड र सिटौला बन्दै गरेको शान्ति स्तम्भको अनावरण गर्न सिक्लेस पुगेका हुन्। सिक्लेसबासीलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले सबैभन्दा धेरै तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाई सम्झे। शान्ति प्रक्रियाको सबै बेलिविस्तारसमेत सुनाए।

‘पहिलोपटक सिक्लेसमा ठूलो कार्यक्रम गर्नुभन्दा पहिले देशमा सन्त्रासको स्थिति थियो,’ उनले विगत सम्झँदै भने, ‘दिनदिनै कहाँ कतिबेला को-को मारिने हो टुंगो थिएन। जतासुकै आतंक थियो। हिँड्न डुल्न सहज थिएन। शहर बजार, गाउँघर आउजाउ गर्न निकै कठिन थियो।’

देशमा द्बन्द्बको मौकामा फाइदा उठाउनेहरू पनि थुप्रै रहेको उनले सम्झना गरे। ‘देशमा द्बन्द्बबाट फाइदा उठाएर निरंकुशताको जाँतोमा जनतालाई अझ पिसेर लैजाने प्रयास भएको थियो,’ उनले भने, ‘अझ त्यतिबेलाका निरंकुशतावालाले राष्ट्रसंघमा गएर नेपालमा आतंकवाद टाउको उठाइरहेको छ। यो आतंकवाद मैले मात्र नियन्त्रण गर्न सक्दछु। संसदीय राजनीतिक दलहरू असफल भइसके उनीहरूले केही पनि गर्न सक्दैनन्। आतंककारीलाई ठीक गर्ने मैले हो भनेर त्यति बेलाका कांग्रेस-एमालेलगायत सात राजनीतिक दलका नेताले भनेका थिए।’

शान्ति वार्ता

उनले द्बन्द्बको समय सम्झँदै कोही भूमिगत कोही नजरबन्द त कोही गिरफ्तारीमा परेको स्थिति रहेको बताए। ‘म बाहिर थिएँ। विद्रोहको नेतृत्व गरिराखेकै थिएँ। शान्ति वार्ता अब आवश्यक भयो भनेर मैले पनि महसुस गरेँ। तर वातावरण थिएन। सकारात्मक वातावरण बनाउने उद्देश्यले मैले एकपक्षीय रूपमा तीन महिना युद्धविराम घोषणा गरेको थिएँ। त्यो कुरा मलाई अहिले मनमा सम्झना आइरहेको छ।’ उनले एक पक्षीय रूपमा तीनमहिना युद्धविराम गर्नुको कारण पनि सिक्लेस पुगेर खुलासा गरे। ‘त्यो उद्देश्य थियो निरंकुश शासकलाई राष्ट्रसंघमा जान रोक्नु, राजनीतिक दलहरूलाई माओवादीसँग वार्ता गर्न सहज वातावरण बनाइदिनु किनकी त्यति बेला आतंककारीसँग वार्ता गर्न सजिलो कुरा थिएन। यो रणनीति अपनाइसकेपछि र वार्ता प्रक्रिया सुरु गर्नु थियो।’

गिरिजाभन्दा ठूलो नेता बन्ने सपना

नेपालको राजनीतिमा सधैँ चर्चामा रहने पात्र हुन् गिरिजाप्रसाद कोइराला। ‘त्यति बेला पूरै संसारलाई विश्वासमा लिएर छिमेकीले पत्याएको नेताको पनि नेता हुनुहुन्थ्यो’, उनले भने। गिरिजाभन्दा पनि माथिको नेता हुन प्रचण्डलाई सहज थिएन। प्रचण्ड गिरिजाको सक्रियाता देखेर दंग खाएका रहेछन्। ‘केपी, माधव लगायत अरूसँग त कुराकानी भइरहन्थ्यो। चासो र चर्चा भइरहन्थ्यो,’ उनले भने,‘तर गिरिजा ८० वर्षको बुढा सबैले चिनेको, संसारले पत्याएको उहाँसँग भेट गरी शान्ति प्रक्रियामा जानु थियो। गिरिजाबाबुसँग जतिबेला दोस्रो भेट भयो उनले मलाई तपाईं शान्तिको पक्षमा आउने कि नआउने? भनेर सोध्नु भयो। मैले पनि तपाईं गणतन्त्रको पक्षमा आउने कि नआउने भनेर सोधेँ उहाँले आउने हो क्या! अहिले बाहिर हल्ला गर्न हुन्न भनेपछि हाम्रो कुरा त्यहीँ मिलेको थियो।’

शान्ति प्रक्रिया सफल हुनुमा गिरिजाको सक्रियता नै प्रमुख रहेको उनले बताए। तत्कालीन समयमा पनि केही नेताहरू शान्तिको प्रक्रियामा नरहेको उनको आरोप छ। ‘केही शान्ति प्रक्रिया पक्षमा थिएनन्। गिरीजाको नेतृत्वको केपी-माधवको सक्रियताले अघि बढ्यो। यसमा सिटौलाजीले मलजल गर्नु भएको हो।’

ज्यान बाजी राखेका सिटौला

सरकार र माओवादीको पक्षमा शान्ति प्रक्रियाको लागि पहिलो पटक सिक्लेसमा वार्ता भएको थियो। वार्ताको लागि सरकारको पक्षबाट तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस पुगेका थिए। उनको साथमा कांग्रेसका नेता शेखर कोइराला मात्र थिए।

‘सिक्लेसमा गृहमन्त्रीको पद मात्र दाउमा राखेर हैन ज्यान पनि जान सक्थ्यो,’ प्रचण्डले सिटौलासँग भएको भेटबारे स्मरण गर्दै भने, ‘हामी सिक्लेसमा जनमुत्ति सेनाको विशाल घेराभित्र थियौँ। हामीसँग अत्याधुनिक हतियार थियो। थोरै गढबढ हुने बित्तिकै उहाँ मारिन पनि सक्नुहुन्थ्यो। तर उहाँ जोखिम मोलेरै सेना\पुलिसबिनै शेखर कोइराला बोकेर एक्लै आउनु भयो। उहाँको त्यो साहस गिरीजाको भरोसा र आफ्नै बुझाइले पनि त्यो सम्भव भएको थियो।’

त्यहि शान्ति सम्झौतालाई इतिहासम्म चिनाइराख्न अहिले सिक्लेसबासीले शान्ति स्तम्भ निर्माणको काम सुरु गरेका छन्। नेपालमा शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेलेका मध्ये दुई प्रचण्ड र सिटौलाले सोमबार स्तम्भको अनावरण पनि गरे। ‘सिक्लेसबासी सबैलाई धन्यावाद दिन्छु। यो बिर्सन सक्दिनँ। सिक्लेसमा हामी आएर शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण पक्षको थालनी गरेको १२ वर्ष बित्यो’ , प्रचण्डले भने, ‘सायद तपाईंहरूले यसको परिघटनाई अविस्मरणिय बनाउन पनि धेरै नै महत्त्व दिनु भएको रहेछ। शान्तिको प्रतिकको रूपमा सिक्लेसलाई स्थापना गर्नु भएको रहेछ। सिक्लेस इतिहास, सांस्कृतिक, पर्यटीकय महत्वले, शान्ति प्रक्रियाले विशिष्ठ बनेको छ।’ उनले जनआन्दोलन, शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापन र सिक्लेस विश्वले अध्ययन गर्न थालेको बताए।

पक्की बाटोमा सिक्लेस आउने आस्वासन

आजसम्म पनि पोखरा देखि सिक्लेस जोड्ने मोटरबाटो पक्की नभएको देखेर प्रचण्ड दंग परे। ‘पोखराबाट गाडीमा आयौँ। मोटरबाटो कच्ची रहेछ यहाँ आउन हामीलाई साँढे तीन घण्टा लाग्यो’, बाटोको स्थिति देखेपछि उनले भने, ‘बाटोको डिपिआर भएको रहेछ। म सरकारमा रहेको पार्टीको अध्यक्षको हैसियतले बजेट विनियोजन गर्ने विश्वास तपाईंहरू माझ गराउँछु। अर्काे पटक सिक्लेस ४०-५० मिनेटमा आउने बाटो हुनेछ।’