प्रचण्डले भने: हामी अलि बढी फोहोरी भएका छौं - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डले भने: हामी अलि बढी फोहोरी भएका छौं



काडमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबाट जनताले ठूलो अपेक्षा राखे पनि आफूहरुको गतिविधि आत्मकेन्द्रित भएको बताएका छन्।

‘ऐतिहासिक अवसर र जोखिमको बीचमा पार्टी एकता गरेका छौं। जनताले हामीसँग धेरै ठूलो अपेक्षा गरेको छ’, प्रचण्डले भने, ‘तर हाम्रा क्रियाकलाप र गतिविधिहरु अलि बढी नै आत्मकेन्द्रित भएका छन्, यसबीचमा। खासगरी ६२/६३ को जनआन्दोलनपछि कोही न कोही कुनै न कुनै रुपमा अलि बढी आत्मकेन्द्रित, अलि बढी धुलोमैलो लागेका, अलि बढी फोहोरी-फोहोरी भएका छौं।’

सहाना प्रधानको चौथो स्मृति सभामा धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी एकतालाई एउटा महान सफाइ अभियानको रुपमा सुदृढ गरेर लैजानु जरुरी रहेको बताए। उनले सरकारलाई पनि जनअपेक्षाअनुसार प्रभावकारी बनाएर लैजाने चुनौती आफूहरुको सामु भएको बताए।

उनले एकता सफल भएमा संसारलाई नै बलियो सन्देश दिन सकिने बताए। ‘त्यो नेपालको कम्युनिस्ट आन्दोलनमा मात्रै होइन, विश्व कम्युनिस्ट आन्दोलन र श्रमजीवी जनताको आन्दोलनमा पनि नयाँ कोशेढुंगा सावित हुनसक्ने अपार सम्भावना हाम्रो अगाडि छ’, उनले भने।