दहि चिउरे प्रचण्ड ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दहि चिउरे प्रचण्ड !



किंग खनाल/काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशमा भइरहेका बलात्कार, हत्या र हिंसाका घटना बाम सरकार विरुद्ध षड्यन्त्र भएको बताएका छन् । बिहीबार काठमाडौँमा एक पुस्तक विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

दाहालले घुमाउरो पारामा कंचनपुर लगायतका हत्या, हिंसाका घटनाहरू नियोजित हुनसक्ने र यो सरकार विरुद्ध गरिएको षड्यन्त्र भएको पनि बताए । निर्मला पन्तको हत्या प्रकरणमा सरकारले टुङ्गो लगाउन नसकेको समयमा उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

निर्मला पन्तको बलात्कार पछि हत्या भएपछि एकातिर न्यायको लागि आवाज उठिरहेको छ तर सरकारले भने कहिले षड्यन्त्र र कहिले के भनेर उम्किने प्रयास मात्र गरेको छ ।

निर्मलाको हत्या भएको लामो समय हुँदा पनि हत्यारा पत्ता नलाग्नु, प्रहरीले गलत व्यक्तिलाई अपराधी बनाएर अपराधीलाई उम्काउन खोज्नु र सरकारले कुनै ठोस निष्कर्षमा पुगेर एक्सन लिन नसक्नुलाई दालमा केही कालो छ कि भन्ने शङ्का भने आम जनमानसमा परेको छ ।

उता निर्मलाका बाबु आमा कंचनपुरबाट काठमाडौँ आएर न्यायको भिख मागिरहेका छन्, विभिन्न सङ्घ संस्था र अधिकारकर्मीलाई गुहार्दै छन् ।

यस्तो परिस्थितिमा सत्ताधारी पार्टीका शक्तिशाली अध्यक्षले सरकार विरुद्धको षड्यन्त्र भएको बताउनुले हत्यारा भेटिन्छ र उसलाई कारबाही हुन्छ भनेर नसोचे पनि हुन्छ ।

केहि दिन अगाडी डा. गोबिन्द केसीको सत्याग्रहमा पनि प्रचण्डले कुरा चपाएका थिए । तिनै प्रचण्डले डा. केसीको केहि वर्ष अगाडिको आन्दोलनमा भने खुलेर साथ् दिएका थिए । प्रचण्ड यसरी फेरिनुमा केहि भित्रि कारण हुनसक्छ नत्र यस्तो दहि चिउरे ब्यबहार किन गरिरहेका छन् त ?

प्रचण्डको यस्तो सतही टिप्पणीले उनको उचाई गिराउन निकै सहयोग त गरेकै छ त्यसमाथि उनि ओलीका दुत बनेको प्रष्ट देखिन्छ ।