प्रचण्डले भने: रेकर्ड बनाएँ तर बेच्न सकिन ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

प्रचण्डले भने: रेकर्ड बनाएँ तर बेच्न सकिन !



चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले रेकर्ड बनाउँदै हिँडे पनि बजारमा बेच्न भने नसकेको बताएका छन्।

चितवनको पर्यटन विकासको लागि चितवनमा भएको कार्यशालामा बोल्दै प्रचण्डले आफूहरु विभिन्न तथ्यबाट गुज्रेर आएको भन्दै उनले युद्ध, शान्ति, विद्रोह तथा रुपान्तरणको सन्दर्भलाई राम्रोसँग सदुपयोग गर्न सक्नुपर्ने बताए।

‘केही रेकर्ड त बनायौं’, प्रचण्डले भने, ‘परिवर्तन, शान्ति सम्झौता, संविधान निर्माण, पार्टी एकता गर्‍यौं। हामीले दुई, साढे दुई दशकमा धेरै रेकर्ड बनायौं। तर हामी आफैंले बनाएको रेकर्डहरु बजारमा बेच्नचाहिँ सकेनौं।’

हाम्रो जस्तो रेकर्डहरु ल्याटिन अमेरिकी देशहरुमा वा युरोपमा बनेका हुन्थे भने दुनियाँले कसरी हेर्थ्यो होला भन्दै प्रचण्डले नेपालमा र कम्युनिस्टहरुको नेतृत्वमा बनेको रेकर्ड भएकाले दुनियाँ जसको हातमा छ, उनीहरुलाई यसको ऐतिहासिकता, महत्त्व र राष्ट्रिय र अन्तर्राष्ट्रिय आयामका बारेमा चर्चा गर्न मन नलागेको बताए।

प्रचण्डले व्यापार घाटा घटाउने मनशायले बढाइएको करले सर्वसाधारणमा नकरात्मक असर परेको बताए। उनले कर बढ्दा आफूलाई केही नमिलेको जस्तो लागेको बताए। जनताको कर प्रतिको असन्तुष्टि सम्बोधन गर्नका लागि छलफल भइरहेको जानकारी गराए। ‘सन्तुलित विकास कसरी गर्ने बारे छलफल भएको छ’, उनले भने, ‘कम्युनिस्ट सरकारले जनतालाई कर बढाएको भन्ने पनि परेको छ।’

देशको नीति,ऐन कानुनमा झमेला रहेका कारण बाहिरको लगानी आउन नसकेको उनले स्वीकार गरे।

प्रचण्डले चितवन जिल्लाको समग्र विकासले यससँथ जोडिएका जिल्लाका साथै देशभरको विकासमा प्रत्यक्ष प्रभाव पार्ने बताए।