प्रचण्डले भने: कांग्रेसको कुनै एजेन्डा छैन, त्यसैले केसीको पछी लाग्यो - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रचण्डले भने: कांग्रेसको कुनै एजेन्डा छैन, त्यसैले केसीको पछी लाग्यो



डाक्टर गोविन्द केसीको विषयमा म केही भन्न चाहन्न । उहाँले यो पहिलो पटक बसेको अनसन पनि होइन । यसभन्दा अघि १५ पटक उहाँ अनसन बसिसक्नु भएको छ ।

लोकतान्त्रिक भन्ने सरकारका बेलामा झन् धेरै समयमा बस्नु भएको छ । उहाँहरूले के हेरेर बस्नु भएको थियो त्यतिखेर सम्बोधन गर्न ।

अहिले गोविन्द केसी अनसन बस्नुहुन्छ यो नेपाली समाजले पचाइसेकेको छ उहाँको काम अनसन बस्नु हो । उहाँ बसिराख्नु हुन्छ ।

उहाँसँग वार्ता हुन्छ सहमति पनि हुन्छ त्यो पनि सामान्य प्रक्रिया हो । यसमा अनौठो मान्नुपर्ने कुनै कुरा छैन ।

हाम्रो पार्टीको अस्ति सचिवालय बैठक बस्तै थियो । जुम्लाको स्वास्थ्य विज्ञान प्रतिष्ठानका तीन जना डाक्टरहरुको विज्ञप्ति हाम्रो सचिवालय बैठकमा आइपुग्यो । हामीले हेर्‍यौ । अब केही दिन मात्रै जुम्लामा डा केसी रहने हो भने तुरून्तै सिसियू आवश्यकता पर्छ । सिसियू सुविधा जुम्लामा छैन त्यसकारण उहाँलाई छिटोभन्दा छिटो उहाँको बैकल्पिक व्यवस्था गर्नुपर्छ’ भन्ने पत्र आएपछि त्यहाँ प्रधानमन्त्री जी पनि हुनुहुन्थ्यो । उहाँको जीवन रक्षा गर्ने पहिलो कर्तब्य सरकारको हो ।

अन्तिम समयसम्ममा पनि डा. गोविन्द केसीको जीवन रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेर उहाँसँग वार्ता गरि समस्याको समाधान गर्न संगसँगै महत्व दिएर अगाडि जानुपर्छ भनेर हामीले निर्णय गर्‍यौ ।

सरकारले वार्ता टोली बनाइसकेकै थियो, अब उहाँको जीवन रक्षा गर्ने दायित्वबाट पनि हामी चुक्न हुँदैन भनेर हामीले निर्णय गर्‍यौ र भोलिपल्ट सरकारले उहाँको जीवन रक्षाका निम्ति हेलिकप्टर, सेना पुलिस र वार्ता टोलीका सदस्यहरू सबैलाई पठायो ।

गोविन्द केसी अहिले काठमाण्डु हुनुहन्छ । उहाँको जीवन रक्षा गर्ने दायित्व सरकारको हो । तर, उहाँको अर्को पक्ष उहाँको जीवन रक्षाप्रति गम्भीर छैन ।

तथा कथित लोकतान्त्रिक भन्ने तागत सायद उहाँको हत्या गर्न चाहन्छ र त्यो लासको राजनीति गर्न चाहने हो कि भन्ने प्रश्न गम्भीर रूपमा खडा भएको छ ।

म जनतालाई पनि भन्न चाहन्छु। यो के बिडम्बना होरु सरकारले वार्ता टोली बनाएको छ समस्या समाधान गर्न, सरकारले उहाँको जीवन रक्षाका लागि लडेर जीवन रक्षा गर्नुपर्ने सामाना गरेको छ । फेरि सरकारै माथि आरोपै आरोप यो के चिज हो ?

गोविन्द जीसँग वार्ता गर्ने कुरामा हामी तयार छौ । कति लचिलो हुनुपर्ने हो हामी तयार छौ । उहाँको जीवन रक्षाप्रति हामी संवेदनशील छौ । तर मैले यहाँ उठाउन खोजेको नेपाली कांग्रेसले खोजेको चै के हो ?

नेपाली कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्र डाक्टर गोविन्द केसीको पुछ्छर समातेर तार्न हरण गर्न खोजेको हो ?

कांग्रेसले आफ्नो राजनीति गोविन्द केसी मार्फत गर्नुपर्ने ठाउँमा पुगिसकेको हो ? कांग्रेस यति निम्छरो, यति कमजोर, यति एजेन्डाबिहिन यति अलोकतान्त्रिक भइसेकको हो ?

अस्ती भर्खरै हामी त्यत्रो सहकार्य गरेको १२ बुँदे समझदारी शान्ति सम्झौता गरेको पार्टीको कुनै एजेन्डा छैन ? गोविन्द केसीको माग पुरा गर, भनेर अनि सम्पूर्ण तोडफोडमा उत्रिएको हो । यदि हो भने अब कांग्रेस सिद्धियो। कांग्रेसको अब अवसानको बाटो हो यो ।

(नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रस्तुत गरेको भाषण जस्ताको तस्तै प्रस्तुत गरेका हौं ।)