पूर्वमाओवादी एकताका लागि प्रचण्डले ल्याए नयाँ प्रस्ताव - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

पूर्वमाओवादी एकताका लागि प्रचण्डले ल्याए नयाँ प्रस्ताव



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पूर्व माओवादीहरुको एकताका लागि नयाँ प्रस्ताव ल्याएका छन् । उनले पूर्वमाओवादीहरूको जरुरी भएको बताउँदै आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्।

माओवादीबाट फुटेर गएका नेताहरुलाई आत्मसमीक्षा गरेर फेरि नयाँ उचाइको एकताका लागि प्रस्ताव गरेका छन्। उनले भने, ‘माओवादी जनयुद्धलाई बिद्रुपीकरण गर्ने काम तीव्र रुपमा भइरहेका छन्। त्यसकाविरुद्ध एक हुने उपाय खोज्नु बुद्धिमानी हुन्छ। हामी लडाइँ लडेकाहरु जनयुद्धलाई बिद्रुपीकरण र विसर्जित गर्न खोज्नेविरुद्ध एकता गरौं।’

एकताको सुरुवात आत्मसमीक्षाबाट गर्नुपर्ने उनको भनाइ छ। आत्मसमीक्षा मार्क्सवादको अवयव रहेको बताउँदै उनले जनयुद्धमा एक भएपनि शान्ति प्रक्रियामा आएपछि संघर्ष गर्नुपरेको बताए।

उनले माओको भनाइलाई उद्घृत गर्दै नयाँ आधारमा एकता जरुरी भएको उल्लेख गरे। शान्ति प्रक्रियामा आएपछि आफूहरुलाई प्रतिक्रियावादीले फुटाएको उनको भनाइ थियो।

उनले भने, ‘शान्ति प्रक्रियामा आएपछि हामी टुक्राटुक्रा भएर एकले अर्कोलाई गलत सिद्ध गर्नेतर्फ लागिपर्‍यौं। त्यो संघर्षको चरण थियो, अब फेरि नयाँ उचाइको एकता गर्ने अवस्थामा पुग्यौं।’

भूमिगत रहँदासम्म फुटाउने तत्वसँग भेट नभएकाले एकता कायम रहन सकेको उनले बताए। खुला राजनीतिमा आएपछि प्रतिक्रियावादी विभिन्न समूहले प्रत्येकलाई समातेर एकसँग अर्कालाई भड्काएको उनको भनाइ थियो।

‘शान्ति प्रक्रियापछि हामी सबै खुला भइयो, म पनि खुला, बाबुराम, बादल, विप्लव, किरण खुला भयौं। तपाईं त महान् व्यक्तिलाई फलानो त्यस्तो गरेको भन्दै उनीहरुले भड्काए। तपाईंजस्तो विद्वानलाई कस्तो अप्ठ्यारोमा राखेको छ भने। तपाईं त हो कमान्डर घेरा हाल्न खोजे भनेर मलाई भड्काए,’ उनले भने, ‘साथीहरुले सिध्याउन खोजेको हो कि जस्तो मलाई पनि हुन गयो। अरुलाई पनि परेको हो। कसरी प्रतिक्रिवादीले फुट पार्छन् भनेर लेलिनले जे भनेका थिए, हामीलाई पो भनेका रहेछन् लेलिनले भने जस्तो लाग्छ।’

प्रचण्डले अहिले माओवादीसँग फुटेर गएका सबै नेतासँग आफ्नो राम्रो सम्बन्ध बनेको उल्लेख गर्दै सहकार्य भइरहेको बताए। उनले थपे, ‘बाबुराम, विप्लव, किरण, उपेन्द्र र मोहनविक्रमजीसँग समेत प्यारो सम्बन्ध भएको छ।’