एमसीसीबारे प्रचण्ड चुप लाग्नुको रहस्य के ? - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

एमसीसीबारे प्रचण्ड चुप लाग्नुको रहस्य के ?



काठमाडौं- नेकपाका केहि नेताको लागि विवादको कडी र केहि नेताको लागि गलाको हड्डी बनेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेकपाका लागि खेलो बनेको छ ।

देशको हितअनुकूल नभएको भन्दै परिमार्जन गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिइरहेका नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पछिल्लो समय भने यस विषयमा मौन देखिएका छन् । सम्झौता अनुमोदन गर्ने समय घर्किंदै जाँदा उनको मौनतालाई भने अर्थपूर्णरुपले हेरिएको छ ।

प्रचण्ड पार्टीभित्र नै विवादित बनेको एमसीसी सम्झौताबारे पछिल्लो समय खासै बोलेका छैनन्, तर, एमसीसीको विपक्षमा उभिंदा प्रधानमन्त्री केपी शर्मा ओलीसंग उनको राम्रै दुरी बढेको छ ।

पहिले पार्टीका दुई अध्यक्षबीचको छलफलपछि तत्काल बैठक बोलाएर एमसीसीका विषयमा विस्तृत छलफल गर्ने सहमति भएको थियो । तर, सहमतिअनुसार अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नबोलाएपछि जेठ २४ गते प्रचण्ड बालुवाटार पुुगेर पुनः बैठक बोलाउन आग्रह गरे ।

जेठ २७ र ३२ गते तय भएको सचिवालय बैठक अर्को मितिसमेत तय नगरी अन्तिम समयमा स्थगित भएपछि अर्को सचिवालय वा स्थायी कमिटी बैठक कहिले बस्छ भन्ने टुंगो छैन ।
नेकपाकी नेतृ पम्फा भुसाल भने एमसीसीका विषयमा प्रचण्ड मौन नरहेको र सम्झौता परिमार्जन गर्ने पक्षमा अमेरिका नरहेकोले एमसीसी लागू नहुने जिकिर गर्छिन् ।

नेपाली कांग्रेस र तत्कालीन एकीकृत नेकपा माओवादी गठबन्धनको सरकारको समयमा २०७४ भदौ २९ मा एमसीसी सम्झौता भएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा त एमसीसी पास गर्नुपर्ने पक्षमा छन् भने नेकपाका अध्यक्ष प्रचण्ड भने एमसीसी यथास्थितिमा पारित नभइ परिमार्जन गर्नुपर्ने पक्षमा उभिएका छन् । यसका लागि उनले सचिवालय बैठक बस्न जोड गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली आफूअनुकूल वातावरण नभएसम्म सचिवालय बैठक ढिला गर्ने रणनीतिमा देखिन्छन् ।

कोरोना महामारी र सीमा विवादको चुनौती रहँदासम्म अन्य विषयले सरकारलाई अप्ठेरो पार्ने प्रयास गर्दा छविमा आँच आउनसक्ने भएकाले हालका लागि प्रचण्ड मौन देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको भनाइ छ ।

विगतमा आफ्नै पार्टी सहभागी सरकारले गरेको सम्झौतालाई दुई वर्षभन्दा बढी समयपछि देशको हितअनुकूल परिमार्जन गर्नुपर्ने प्रचण्डको भनाइ आइरहँदा एमसीसी सम्झौताको विषय भने थप पेचिलो बनेको स्पस्ट हुन्छ । इमेजको भिडियोमा आधारित रिपोर्ट