प्रधानमन्त्री देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने नेता नेपालको जिकिर - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

प्रधानमन्त्री देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने नेता नेपालको जिकिर



काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताएका छन्।

संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले आज थलीमा आयोजना गरेको धन्यवाद ज्ञापन कार्यक्रममा नेता नेपालले राष्ट्रियसभा गठनको बखेडा निकालेर सरकारले अत्तो थाप्ने काम गरिरहेको आरोप लगाए।

नेता नेपालले अविलम्ब निर्वाचन परिणाम सार्वजनिक गरी राष्ट्रपतिसमक्ष पेस गर्न निर्वाचन आयोगसँग आग्रह समेत गरेका छन्।

‘प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम सार्वजनिक गर्न आयोगले विलम्ब गर्न हुँदैन’, उनले भने, ‘संक्रमणकालको अन्त्य गर्न चाँडो नयाँ सरकार गठन गर्नुपर्छ।’

संविधानमा उल्लेख नै नभएको एकल संक्रमणीय प्रणालीलाई स्वीकार गर्न नसकिने बताउँदै नेता नेपालले राष्ट्रियसभा बहुमतीय प्रणालीमा नै गठन गर्नुपर्नेमा जोड दिए।

दुनियाँको जुनसुकै शक्ति लागे पनि एमाले र माओवादी केन्द्रबीचको एकता नरोकिने भन्दै नेता नेपालले दुवै पार्टीका कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन्। रासस