प्रचण्ड-नेपालमाथि खनिए प्रभु शाह: लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

प्रचण्ड-नेपालमाथि खनिए प्रभु शाह: लगाए गम्भीर आरोप



वीरगन्ज- नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव नेपाललाई गम्भीर आरोप लगाएका छन् । उनले प्रचण्ड-नेपालले छलछाम गरेको आरोप समेत लगाएका छन् ।

बुधबार पर्साको वीरगन्जमा नेकपा ओली समूहको प्रदेश २ कमिटीद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेता साहले प्रचण्ड-नेपालले देशलाई ठुलो घात गरेको समेत आरोप लगाए ।

असार महिनामा अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वास प्रस्ताव ल्याएको शाहले आरोप लगाए।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड–नेपालले कुर्सीको लालसामा बिनाकुनै कमिटीको निर्णय गरी छलछाम गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताए।

‘तपाईंहरु देख्दै हुनुहुन्छ, आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याइयो। म सोध्न चाहन्छु कमरेड प्रचण्डलाई, तपाईंले कुन कमिटीको बैठकको निर्णयबाट अविश्वासको प्रस्ताव ल्याउनुभयो ? तपाईले संसदीय दलको बैठक कहिले बोलाउनुभयो प्रस्ताव ल्याउनका लागि ?,’ नेता साहले प्रश्न थप गरे, ‘असार महिनामा अर्कै प्रयोजनका लागि गराइएको हस्ताक्षरको प्रयोग गरी षड्यन्त्रपूर्ण रुपमै अविश्वास प्रस्ताव ल्याउने कम्युनिष्ट र क्रान्तिकारी नेता हुन सक्छ र? म विचार गर्न साथीहरूलाई भन्न चाहन्छु। क्रान्तिकारी कस्ता हुन्छन्, प्रतिक्रान्तिकारी कस्ता हुन्छन्, अवसरवादी कस्ता हुन्छन् त्यो छुट्याउन सक्नुभयो भने पनि सबैकुरा छर्लङ्ग रूपमा बुझ्न सक्नुहुन्छ।’

‘छलछामले पनि क्रान्ति हुन्छ र? षड्यन्त्रपूर्ण ढंगले कम्युनिष्ट पार्टी चल्छ?’ नेता साहले भेलालाई सम्बोधन गर्दै प्रचण्ड समूहलाई भने, ‘एउटा वर्ग छ जसले झुटो बोलेर, भ्रम छलेर स्वार्थपुर्ति गर्न खोजिरहेको छ। र त्यही एउटा अर्को वर्ग जसले सत्य बोलेर जनताको सेवा गरिरहेको छ, तपाईंले रोज्ने बेला हो यो।’

नेता साहले सगोल कमिटीको नभई प्रचण्ड–माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताए। केन्द्र र प्रदेशमा छलछामपूर्ण ढंगले संकट सिर्जना गरी देशमा अस्थिरता ल्याउन उद्धत अराजक समुहलाई निस्तेज गर्न नेता साहले आह्वान गरे।

भेलामा नेकपा महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्थायी कमिटीद्वय सदस्य रघुवीर महासेठ एवम् सत्यनारायण मण्डल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतो, नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेललगायतको सहभागिता थियो।