‘प्रवेश हत्या काण्ड’ मा आरोपित ६ जना नियन्त्रणमा , ८ जना विरुद्ध किटानी जाहेरी, ४ जना फरार - Himal Post Himal Post
  • ५ चैत्र २०८१, बुधबार
  •      Wed Mar 19 2025
Logo

‘प्रवेश हत्या काण्ड’ मा आरोपित ६ जना नियन्त्रणमा , ८ जना विरुद्ध किटानी जाहेरी, ४ जना फरार



हेमन्त न्यौपाने /पुनर्वास,

पुनर्वास नगरपालिका वडा न. २ अरनिकोबस्ती निवासी उद्योगपति यम बहादुर तामाङका २२ वर्षीय छोरा प्रवेश तामाङ(काले)को बुधवार बीभत्स हत्या भएको प्रहरी मुचुल्काबाट खुल्न आएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतकका बुवा, हजुरबुवा, हजुरआमा, सुबेदार तामाङ, मायावती तामाङ र राम बहादुर तामाङलाई नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी प्रमुख प्रहरी निरीक्षक दलराम टमाटाले बताउनुभयो ।

मृतक प्रवेश तामाङकी आमा बेतमाया कंडेलका मामा पुनर्वास नगरपालिका वडा नम्बर ४ निवासी राम बहादुर थापाले दिनुभएको किटानी जाहेरीमा अपराधमा संलग्न व्यक्तिहरू कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर २ अरनिकोबस्ती बस्ने सुब्बा तामाङको छोरा ५० वर्षीय राम बहादुर तामाङ, मृतकका बुवा यम बहादुर तामाङ, चेता तामाङको ३५ वर्षीय छोरा सुबेदार तामाङ, मृतकका बुवा यम बहादुर तामाङकी जेठी श्रीमती गीता तामाङ(उर्जु), विशाल तामाङको श्रीमती मायावती तामाङ, धेनलामा तामाङको २५ वर्षीय छोरा नालामा तामाङ भन्ने दिपेश तामाङ, दिपेश तामाङको श्रीमती भाईली तामाङ भन्ने भमिता तामाङ, तर्लम तामाङको ३७ वर्षीय छोरा सागर तामाङ गरी पहिलो जाहेरीमा बुवा मात्र र शुक्रवार साँझ दिनुभएको पछिल्लो जाहेरीमा ७ जना थप गरी ८ जना विरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

किटानी जाहेरीमा उल्लेख भएका ४ जना व्यक्तिहरू मृतककी सौतेनीआमा गीता तामाङ, भमिता तामाङ, दिपेश तामाङ र सागर तामाङ अहिलेसम्म फरार रहेको प्रहरीले बताएको छ । बुधवार मृतक प्रवेश तामाङलाई कटहरको रुखमा बाँधेर निर्मम तरिकाले कुटपिट भएको स्थानीयहरूले बताए । शव परीक्षण गर्दा आँखा फुटेको, टाउकोमा ठुलाठुला चोट लागेको, छातीमा चोट, हात भाँचिएको र अण्डकोष फुटेको पाइएको मृतकका आफन्त राम बहादुर थापाले बताए ।

हत्याको जिम्मा अपाङ्ग समेत रहेका मृतकका हजुरबुवा कान्छा तामाङ एक्लैले लिएपछि घटना झनै शंकास्पद बनेको छ । प्रहरीले बुधवार प्रहरी सम्पर्कमा नआएका मृतकको बुवा यम बहादुर तामाङलाई बिहीबार नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पठाएको छभने अन्य व्यक्तिहरूलाई शुक्रवार र शनिवार नियन्त्रणमा लिएको हो । पत्रकारसँगको कुराकानीमा मृतकका हजुरबुवा कान्छा तामाङले सुरुमा आफूले हत्या नगरेको बताएपनि पछि स्वीकार गरेका छन् । उनले आफूले ईट्टा प्रयोग गरी आफ्नै नातिको हत्या गरेको बताए । धेरै झगडा गर्ने, निहुँ खोज्ने गरेपछि इट्टा हान्न आफू बाध्य भएको बताए । मृतककी आमा बेतमाया कंडेल यम बहादुर तामाङलाई छोडी अर्कै व्यक्तिसँग बिहेगरि हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ ।