प्रचण्ड-नेपाल पक्षका सांसदहरूलाई प्रधानमन्त्रीले बोलाएपछि…
काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठकमा सहभागिताका लागि प्रचण्ड–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पुगेको छ ।
फागुन २२ गतेका लागि नेकपाका सबै १७३ जना सांसदहरुलाई नै एसएमएसमार्फत सुचना दिइएको ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराएका छन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बस्न लागेको भट्टराईले बताएका छन् ।
ओली समूहका प्रमुख सचेतक भट्टराईले पठाएको एसएमएसमा भनिएको छ, ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ ।’
नेकपाले संसदीय दलको बैठकमा बोलाउन सांसदहरूलाई एसएमएस पठाउने गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए ।
तर, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने प्रचण्ड माधव समूहले बुधबार मात्रै निर्णय गरेको छ । पार्टी सदस्यबाट निस्कासन गरिसकेको कारण ओलीले गरेका निर्णय मान्य नहुने भन्दै संसद सचिवालयलाई पत्र लेखेको छ । बैठक आह्वान गरिएपनि बैठकमा प्रचण्ड–नेपाल समूहका नेताहरु सहभागि नहुने एक नेताले बताएका छन् ।