राजधानीका कारण नेकपा महासचिव विष्णु पौडेलमाथि संकट
काठमाडौं- प्रदेश ५ सरकारले स्थायी राजधानी दाङमा राख्ने प्रस्ताव गरेसंगै नेकपा महासचिव विष्णु पौडेलमाथि संकट थपिएको छ । आफ्नै पार्टीका शिर्ष नेताले राजधानी दाङ लैजाने मन्त्रणा दिएपछि बुटवलमै राजधानी राख्नुपर्नेअडान लिएका पौडेल तनावमा परेका हुन् ।
राजधानी सार्ने निर्णयले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विरोधमा उत्रिएको छ । त्यतिमात्र होइन सत्तारुढ दलभित्रै समेत त्यसको विरोध भएको छ । शुक्रबारको संसद वैठकमा प्रदेश सरकारले दाङको भालुवाङमा प्रदेश राजधानी राख्ने प्रस्ताव पेश गरेसंगै त्यसको नेकपाभित्र र बाहिर चर्को विरोध सुरु भएको हो ।
प्रदेश सरकारले उक्त प्रस्ताव प्रदेशसभामा टेबल गरेसंगै नेपाली कांग्रेसका भातृ संगठनहरुले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा विरोध जनाएका छन् । कांग्रेस निकट तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्ताले बुटवल, मणिग्राम र सैनामैनामा सडकमा उत्रिएर टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।
कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले शुक्रबार नै विज्ञप्ति जारी गर्दै प्रदेश सरकारको प्रस्तावको विरोध जनाएका छन् । उनले कुनै पनि हालतमा वुटवलबाट राजधानी सार्न नदिने चेतावनी समेत दिएका छन् । उनले नेकपाका केही नेताको स्वार्थमा रुपन्देहीबाट प्रदेश राजधानी दाङ सार्ने षडयन्त्र भएको भन्दै आन्दोलनमा सहभागी हुन आह्वान समेत गरेका छन् ।
रुपन्देहीबाट प्रतिनिधीसभामा निर्वाचित नेकपाका महासचिव विष्णु पौडेल वुटवललाई प्रदेश राजधानी बनाउनुपर्ने लविङमा थिए । तर, मुख्यमन्त्री शंकर पोखरेल भने दाङलाई प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने पक्षमा थिए । दुवै नेताबीच प्रदेश राजधानीको विषयमा विवाद थियो । उनिहरु दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रवार भएको छलफलमा दाङलाई प्रदेश राजधानी बनाउने सहमति भएको बताइएको छ । नेकपाका महासचिव विष्णु पौडेललाई अर्थमन्त्री बनाउने सहमती उक्त वैठकमा भएको र पौडेलले अर्थमन्त्रीसंग प्रदेश राजधानी साटेको आरोप कांग्रेसले लगाएको छ । तर, मुख्यमन्त्री पोखरेलले दुवै अध्यक्षलाई प्रदेश राजधानीका विषयमा सहमत गराएपछि भने पौडेल अफ्ठेरोमा परेका छन् । उनले अहिलेसम्म त्यसबारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
प्रदेश सभाको बैठकमा समेत प्रदेशको स्थायी राजधानी दाङ सार्ने प्रस्तावको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध जनाएको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेपछि प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
नेपाली कांग्रेस रुपन्देहीका सांसद फकरुदिन खानले सरकारले चोर बाटोबाट प्रस्ताव ल्याएको आरोप लगाएका छन् । उनले उक्त प्रस्तावलाई कुनै पनि हालतमा नमान्ने चेतवानी दिए ।
कांग्रेस सांसदहरु बैजनाथ कलवार र रमा अर्यालले समेत कार्यसूचीको बारेमा जानकारी नदिई एकाएक प्रस्ताव आउनु आपत्तिजनक भएको धारणा राखे ।
नेकपा रुपन्देहीका प्रदेशसभा सदस्य दघिराम शर्मा न्यौपानले आफुहरु प्रदेशको राजधानी बुटवल हुनुपर्ने पक्षमा रहेको बताए । उनले प्रस्ताव ल्याउंदैमा सबै कुरा नहुने भन्दै प्रस्तावमा संशोधनका लागि पार्टीमा आफुहरुले कुरा उठाउने बताए ।
समाजवादी पार्टीका रुपन्देहीका सासद सन्तोष पाण्डेयले अहिले सरकारले कोरोना नियन्त्रणमा ध्यान मोड्नको लागि प्रस्ताव ल्याएको भन्दै गलत समयमा झुक्काएर प्रस्ताव ल्याएको र त्यसलाई आफुहरुले नमान्ने बताए ।
नेकपाभित्र प्रदेश राजधानीको विषयलाई लिएर विवाद बढेपछि शनिवार संसदीय दलको बैठक बोलाइएको छ । पांच नम्बर प्रदेशको राजधानी रुपन्देही, कपिलवस्तु वा दाङ कहां राजधानी राख्ने भन्नेमा नेकपाभित्र विवाद थियो ।
प्रदेश पांचको प्रदेश सभामा जम्मा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका ६१, नेपाली कांग्रेस १९ जसपाका ६ र जनमोर्चाका १ सांसद रहेका छन् । नेकपाले दाङमा प्रदेश राजधानी राख्ने निर्णय गरेपछि कांग्रेस र जसपाको विरोधले मात्र केही नहुने अवस्था छ । तर, यो निर्णयसंगै नेकपाभित्र असन्तुष्टि भने चुलिएको छ ।