पौडेल समूहमा नयाँ सहमति: सभापतिमा साझा उमेदवार
काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले सभापतिमा साझा उमेदवार बनाउने समझदारी गरेका छन् । सोमबार साँझ पौडेल निवास बोहराटारमा बसेको बैठकमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उमेदवार बनाउने समझदारी भएको हो ।
बैठकमा सहभागी एक नेताका अनुसार प्रदेश अधिवेशनको समिक्षा गर्ने, समूहका सबै नेताको राय लिने र साझा उम्मेदवारबारे निर्णय लिने सहमति बनेको छ ।
‘साझा उम्मेदवार तय गर्ने विषयमा केन्द्रीय समितिका अरु साथीहरूको पनि राय लिन्छौं । सबैसँग छलफल गरेर ४८ घण्टा अर्थात् २ दिनमा सभापतिको उम्मेदवार टुंग्याउने कुरा भएको छ,’ ती नेताले भने ।
पौडेल समूहबाट पौडेलसहित, प्रकाशमान सिंह, शेखर कोइराला र शशांक कोइराला सभापतिमा आकांक्षी छन् ।
उनीहरू चारजनामध्येबाट एक जना साझा उमेदवार तय गर्न लागिएको हो । कसलाई उठाउने भन्नेबारे दुई दिनभित्र टुङ्गो लगाउने समझदारी भएको छ ।
सभापतिको उम्मेदवारबारे छलफल गर्न मंगलबार संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरूको बैठक चाक्सीबारीमा बोलाइएको छ ।