देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउन सुजाता निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’ - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउन सुजाता निवासमा पौडेल समूहको ‘लञ्च मिटिङ’



काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका नेताहरु देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् ।

नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफुखुसी गरेको भन्दै असन्तुष्ट बनेका देउवाइतरका नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्धको मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् ।

काँग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान १० बजेदेखि बसेको उक्त लन्च सहितको बैठक झण्डै २ घण्टा भन्दा बढि चलेको थियो ।

बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा. रामशरण महत सहभागी भएको स्रोतले जनाएको छ ।

बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रकृया विपरित गएकोबारेमा सवै नेताहरु एकमत भएका थिए ।

यसअघि गच्छदारलाई उपसभापतिमा मनोनित गर्दा विधि र प्रकृया मिचेर गरेको भन्दै काँग्रेसका युवा नेता गगन थापाले त्यसको सशक्त प्रतिकार गर्ने घोषणा गरेका थिए ।