अर्थमन्त्री पौडेल र सचिवबीच बोलचाल बन्द
काठमाडौं- अर्थमन्त्री विष्णु पौडेल र राजस्व सचिवबीच बोलचाल बन्द भएको छ । अर्थमन्त्री पौडेलको कोटामा राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको सदस्य सिफारिस काण्डले अर्थमन्त्री पौडेल र सचिवको बोलचाल बन्द भएको बुझिएको छ ।
पौडेलको ठाडो आदेशमा पाल्पाका एमाले नेता ०४८ सालका सांसद ६५ भन्दा बढी उमेरका कूलप्रसाद नेपाललाई बाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष बनाउने खेल सुरू भएको थियो । उनको नागरिकता, बायोडाटा राखेर टिप्पणी उठाएर मन्त्रीले सदर गरेपछि मात्रै कूलप्रसादको उमेरले नमिल्ने थाहा भयो ।
अहिले सरकारमा आफ्ना मान्छे भर्ति गर्ने चटारो यस्तो छ कि, नियुक्त गर्नुपर्ने व्यक्तिको उमेर, योग्यता केहि पनि नहेरी अन्दाधुन्द गर्ने गरिएको र पछि पछुताउनुपर्ने अवस्था छ । त्यस्तै चपेटामा परे बाणिज्य बैंक सञ्चालक समितिमा नियुक्ति पाइसकेका कूलप्रसाद नेपाल । अध्यक्ष नै बनाउने भनिए पनि शुरुमा निजलाई सदस्यका रुपमा नियुक्त गर्नुपर्ने र पछि सञ्चालक समितिको बैठकले अध्यक्ष तोक्नुपर्ने हुन्छ ।
अहिलेका अध्यक्ष अर्थ मन्त्रालयको बजेट महाशाखा प्रमुख तथा (सहसचिव) धनिराम शर्माले राजीनामा दिने, उनको ठाउँमा सञ्चालक सदस्यका रुपमा अर्थ मन्त्रालयबाट एकजना प्रतिनिधि पठाउने र उनीसहितको बैठकले कूलप्रसादलाई अध्यक्ष बनाइएको माइन्युट तयार पार्ने तयारे बमोजिम उनको नियुक्ति भयो । तर, कूलप्रसादको नाममा टिप्पणी उठुञ्जेल र मन्त्रीले त्यसलाई सदर गरुञ्जेल चाल नपाइएको कुरा नियुक्तिको चिठी बनाइसकेपछि मात्रै थाहा भयो।
कूलप्रसादको हातमा नियुक्तिको चिठी परिसकेपछि राजस्व सचिव रामशरण पुडासैनीले उमेरले नमिल्ने छाल पाए । त्यसपछि उनले यो सुचना अर्थमन्त्रीसम्म पुर्याइयो । नागरिकताअनुसार कूलप्रसादको उमेर ६५ भन्दा बढी छ ।
सचिव पुडासैनी हतारहतार मन्त्रीलाई बर्बाद भैसकेको बताए । नियुक्तिपत्र नै कूलप्रसादलाई दिइससकेको, तर उमेरका कारण नमिल्ने भयो भन्दै उनले मन्त्री पौडेलको अगाडी वृतान्त बताए । यत्ति बताउँदा मन्त्री रातोपिरो भैसकेका थिए ।
मन्त्री पौडेलले सचिव पुडासैनीलाई त्यति कुरा पनि ख्याल नगर्ने तपाईंहरु के को सचिव ?’ भन्दै थर्काए । स्रोतका अनुसार मन्त्री पौडेलले कर्मचारीहरू आफूलाई फसाउन लागिपरेको भन्दै रन्थनिए । यसरी अर्थमन्त्रीले ‘मलाई फसाउने ? भनेर हप्काइएका राजस्व सचिव र अर्थमन्त्रीबीच अहिले बोलचाल बन्द छ ।