देउवाविरुद्ध मोर्चाबन्दी: पौडेल पक्षले डाक्यो जिल्ला सभापतिको भेला - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

देउवाविरुद्ध मोर्चाबन्दी: पौडेल पक्षले डाक्यो जिल्ला सभापतिको भेला



काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आफू निकटका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको छ। सभापति देउवाले सरकारलाई सहयोग गरेको र महाधिवेशनको मुद्दाबारे छलफल गर्न बैठक बोलाइएको हो ।

पछिल्लो राजनीतिक अवस्थाबारे रणनीति बनाउने तयारीमा पौडेल समूह जुटेको छ । चौधौं महाधिवेशन तोकिएको समयमा नहुने निश्चित भएपछि पौडेल पक्ष यस्तो तयारीमा जुटेको बताइएको छ ।

महाधिवेशन मिति फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तयारी थियो। तर कोरोना महामारीका कारण देखाएर कांग्रेस नेतृत्वले तत्काल महाधिवेशन नगर्ने भएको छ। यद्यपि महाधिवेशनको अर्को मिति हालसम्म तोकिएको छैन।

यही सन्दर्भमा छलफल गर्न पौडेल पक्षको भेला शनिबार महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको छ। भेलाले फागुन ५ गते आफू निकटका जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको हो।

सभापति शेरबहादुर देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि आगामी रणनीति तय गर्न सभापतिहरूलाई काठमाडौं बोलाउने निर्णय गरेको भेलामा सहभागी एक नेताले जानकारी दिए।

१३ औं महाधिवेशनबाट निर्वाचित सबै समितिको कार्यकाल एक वर्षअघि नै सकिइसकेको छ। विधानअनुसार थप्न मिल्ने एक वर्षको अवधिसमेत सकिएको छ। अब संविधानको व्यवस्थाअनुसार ६ महिनाभित्र अर्थात् भदौ सम्म कांग्रेसले महाधिवेशन गर्नुपर्नेछ। फागुन ५ को भेलाले कसरी अघि बढ्ने भन्ने बारेमा निचोड निकाल्ने ती नेताले बताए।

भेलाले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनलाई कसरी सशक्त एवं प्रभावकारी बनाउने भन्ने विषयमा समेत छलफल गरेको छ।