प्रधानमन्त्री ओलीको पक्षमा विष्णु पौडेल मात्र - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

प्रधानमन्त्री ओलीको पक्षमा विष्णु पौडेल मात्र



काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ७०औँ सचिवालय बैठक निकै तिक्तापूर्ण बनेको छ । बैठकको सुरुमै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव ‘छलफल गर्न आवश्यक छैन’ भनेपछि बैठक नेताहरूको हैसियत नाप्ने स्थितिमा पुगेको थियो ।

मंगलबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा विष्णु पौडेल मात्र देखिएका छन् । महासचिव पौडेलबाहेक सबै सदस्यहरूले प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने बताएपछि बैठक थप रोचक बनेको थियो । स्रोतका अनुसार सचिवालय सदस्य ईश्वर पोखरेलसमेतले प्रस्तावमाथि छलफल हुनुपर्ने बताएका थिए ।

“बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई के छन् आजको कार्यसूची भनेर सोध्नुभयो,” एक सचिवालय सदस्य भन्छन्, “प्रचण्डले मेरो प्रस्ताव, तपाईंको जवाफ आदि त हुन् भनेपछि प्रधानमन्त्री कड्किँदै तपाईंको प्रस्ताव बैठकको एजेन्डा बन्न सक्दैनन् । तपाईंले वितरण गर्नुभएको पत्र गालीगलौज हुन् । कुण्ठा हुन् । ईष्र्या, द्वेष र लाञ्छनामात्रै हुन् । तथ्यहीन आरोप र भ्रमको पुलिन्दा हुन् । तपाईंको प्रस्ताव फिर्ता भएपछि मात्रै बैठक अघि बढ्छ, नभए अघि बढ्दैन ।”

सचिवालयमा प्रक्रियागत ढंगले पेस भएको प्रस्ताव छलफल नै गर्नुहुँदैन भनेपछि प्रचण्ड आक्रोशित बनेका थिए । उनले अरू सचिवालय सदस्यले जे भन्छन् त्यही गर्नुपर्छ भनेर ओलीलाई जवाफ फर्काएको स्रोतको जिकिर छ ।

“तपाईंले प्रस्तावमाथि छलफल हुन्छ कि हुँदैन भनेर हुँदैन,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, “अरू सदस्यहरूले जे भन्नुहुन्छ । त्यही हुन्छ ।”