नेपाली कांग्रेसभित्र पौडेलले मच्चाए बबण्डर ,देउवालाई हटाउने यस्तो रणनीति
काठमाडौं। सरकारविरुद्ध सडक र सदनमा आक्रामक रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र नेता रामचन्द्र पौडेलले बबण्डर मच्चाउन थालेका छन् ।
पौडेलले कांग्रेसको नेतृत्व पाउनका लागि अहिलेदेखि नै विभिन्न अड्चन राखेर सभापति शेरबहादुर देउवालाई असहयोग गर्न थालेका छन् ।
हालै सम्पन्न कांग्रेसको महासमिति बैठकमा सभापति देउवालाई अफल बनाउन पौडेल र उनको गुटले ठूलै कसरत गरेको थियो । तर, देउवाले महासमिति बैठक लम्बाएरै भए पनि सफलता हासिल गरेका छन् ।
सरकारविरुद्धको आन्दोलनमा कांग्रेस होमिएका बेला नेता पौडेलले ७ फागुन ०७६ मा महाधिवेशन उदघाटन गर्नुपर्नेसहितको कार्ययोजना ल्याएका छन् । पौडेलको कार्ययोजनालाई धेरै नेताहरूले रुचाएका छैनन् ।
केही समयअघि सम्पन्न महासमिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यसमितिमा प्रस्तुत ‘उज्यालो भविष्यका लागि समयबद्ध काम गरौँ’ भन्ने प्रस्तावलाई पौडेलले सोमबार केन्द्रीय समिति बैठकमा पुनः पेस गरेका हुन् ।
नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पौडेलद्वारा केन्द्रीय कार्यसमितिमा पेस गरिएको महधिवेशनसम्बन्धी प्रस्तावको कुनै अर्थ नरहेको बताएका छन् ।
०७२ फागुनको तेस्रो साता सभापतिमा निर्वाचित भएका देउवाको नियमित चारवर्षे कार्यकाल ०७६ फागुनको तेस्रो साता सकिनेछ । विशेष कारण देखाएर एक वर्ष कार्यकाल थप गर्न पाउने सुविधा नेतृत्वलाई हुन्छ ।
नेता पौडेलले समयमा महाधिवेशन नगर्दा स्थानीय तह, प्रदेश संघीय निर्वाचन गर्न अप्ठ्यारो हुनुका साथै निर्वाचनमा भोगेको पराजय स्वीकारिसकेपछि अनैतिक हुने तर्क अघि सारेका छन् ।
महासमितिबाट पारित विधान, राजनीतिक र सांगठनिकसहितका प्रस्तावलाई परिमार्जन गर्ने, नेविसंघका विषयमा निर्णय लिनुपर्ने भए पनि केन्द्रीय समितिको बैठक २३ माघमा बस्ने गरी सारिएको छ ।
२१ माघमा देशभर प्रदर्शन गरेपछि कांग्रेसले २३ माघमा बैठक डाकेको हो । सोमबारको बैठकमा नेता पौडेलसहित ज्ञानेन्द्रबहादुर कार्की, सुरेन्द्र पाण्डे र गगन थापाले धारणा राखेका थिए ।