पौडेलले भने- श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको हुँ - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

पौडेलले भने- श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको हुँ



काठमाडौँ -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले श्रीमतीको नाममा भएको ८ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको स्पष्टीकरण दिएका छन् ।

शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै पौडेलले आफ्नो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं. ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्नेगरी प्रकाशित/प्रसारित समाचारहरूप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।

‘सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु,’ विज्ञप्तिमार्फत पौडेलले भनेका छन्, ‘मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने बिषय हो ।’

‘२०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानूनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँदछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘२०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० मा रहेको मेरो श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको हो ।’

त्यतिबेला आफू मन्त्री, साँसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको पौडेलको दाबी छ ।