विष्णु पौडेललाई सरकारले एमाले फुटाइदिने चिन्ता
काठमाडौँ- एमालेका उपमहासचिव एवं सांसद विष्णु पौडेलले सरकारले एमाले पार्टी फुटाइदिने चिन्ता ब्यक्त गरेका छन् । प्रतिनिधि सभामा बोल्दै उनले वर्तमान सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने छैन भनेर विश्वास गर्दा हुन्छ ? भनेर प्रश्न गरेका छन् ।
आर्थिक श्वेतपत्रमाथि प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै पौडेलले वर्तमान सरकारले अध्यादेश ल्याउन लागेको आशंका गरेका हुन् ।
श्वेतपत्रमा अध्यादेशबाट बजेट ल्याएको बारे केपी शर्मा ओली नेतृत्वको यसअघिको सरकारको आलोचना गरिएको थियो । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट बजेट ल्याएको भन्दै आलोचना गरेका थिए ।
पौडेलले अध्यादेश ल्याउने संवैधानिक व्यवस्थाको आलोचना गर्नु ठीक नभएको बताए । ‘यो सरकारको पालामा कहिले पनि अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?,’ उनले प्रश्न गरे, ‘केही हप्ता, केही दिनभित्र राजनीतिक दल विभाजन अध्यादेश आउँदैन भन्ने विश्वास गर्दा हुन्छ ?’