विष्णु पौडेललाई घनश्याम भुसालले दिए कडा चेतावनी - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

विष्णु पौडेललाई घनश्याम भुसालले दिए कडा चेतावनी



काठमाडौं- नेकपा प्रचण्ड माधव समूहका नेता घनश्याम भुसालले मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासको विरोध गरेका छन् । विरोध प्रदर्शनमा उत्रिएका जनतामाथि कामचलाउ सरकारका दुई जना मन्त्रीले दमनपूर्ण हर्कत गरेको उनले बताए ।

‘वातावरणीय प्रभाव मूल्यांकन गरेपछि स्थानीय बासिन्दाको व्यवस्थापन गरेर मात्रै अरु काम अघि बढाउने विषयमा भएको सहमति समेत तोडेर ढल्दै गरेको सरकारका मन्त्रीहरुले सयौं सुरक्षाकर्मीको घेराभित्र बसेर कायरतापूर्वक नागरिक दमनको जुन नांगो नाच नाचेको हिसाब किताब हुने भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार स्थानीयमाथि लाठी बर्साएर औद्योगिक क्षेत्रको शिलान्यास गरिएको भुसालको भनाइ छ । रुपन्देही ३ का सांसद समेत रहेका भुसालले स्थानीय बासिन्दाको माग पूरा नगरी हतारमा औद्योगिक क्षेत्रको शिलान्यास गर्नु जग्गा दलालीको वातावरण बनाउने वाहेक केही नभएको दाबी गरे ।

यस्तै अर्थमन्त्री विष्णु पौडेलले आफ्नो चुनावी बाचा विपरित मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरेको उनको भनाइ छ । प्रतिनिधिसभामा यसै क्षेत्रबाट उम्मेदवार हुँदा विष्णु पौडेलले स्थानीय बासिन्दाको समस्या समाधान नभई औद्योगिक कोरिडोरको कुनै काम शुरु भए राजनीतिबाटै सन्यास लिन्छु भनेर पटकपटक वाचा गरेको जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

करिब साढे चार दशकदेखि बसोबास गर्दै आएका जनताको उचित व्यवस्थापनको विकल्प नदिएको तथा वातावरणीय प्रभाव मूल्याङकन समेत नगरी केवल राजनीतिक प्रचारका लागि शिलान्यास गरिएको उनले बताए । स्थानीय अवरोधकाबीच रुपन्देही २ का सांसद पौडेलले शुक्रबार औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।