मुख्यमन्त्री पोखरेलले दिए पदबाट राजीनामा
काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिने कि अविश्वास प्रस्तावको सामाना गर्नेबारे अनिर्णित थिए ।
अहिले उनी राजीनामा पत्र बोकेर प्रदेश प्रमुखको कार्यालयमा पुगेको स्रोतले बताएको छ । आजै बिहान संसदीय दलको बैठकले राजीनामा वा अविश्वास प्रस्तावको सामना गर्ने अधिकार पोखरेललाई दिएको थियो ।
एमाले नेता पोखरेल तत्कालीन प्रदेश ५ को मुख्यमन्त्रीमा २०७४ फागुन ३ गते पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई दुई दल (एमाले र माओवादी केन्द्र) को समर्थनमा प्रदेशप्रमुख झाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
बहुमत प्राप्त दलको नेताका रुपमा शंकर पोखरेल १९ वैशाख २०७८ मा बिहानै राजीनामा दिएर सोहि दिन अवेर राति पुनः मुख्यमन्त्री नियुक्त भएका थिए । यो पटक उनी धारा १६८ को उपधारा १ बमोजिम नियुक्त भएका थिए ।
४१ जना एमालेका सांसदहरुको हस्ताक्षरमा प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई पुनः नियुक्त गरेपनि त्यहाँ रहेका ३ जना एमाले सांसदहरुले उनको छाथ छाडेपछि उनी अल्पमतमा परेका हुन् ।