रक्षामन्त्री पोखरेल पूर्ण असफल भएको भन्दै पदबाट हटाउनुपर्ने माग - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

रक्षामन्त्री पोखरेल पूर्ण असफल भएको भन्दै पदबाट हटाउनुपर्ने माग



काठमाडौँ- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको समिति तत्काल विघटन गर्न बरिष्ठ चिकित्सकहरुले सुझाव दिएका छन् ।

संसारका धेरै देशमा विज्ञहरुको समिति बनाएर त्यसले निर्णय गर्ने र सरकार र तथा दलहरुले निर्णय कार्यान्वयन गराउने भएपनि नेपालमा उल्टो भएको उनीहरुको भनाई छ ।

बरिष्ठ चिकित्सक डा. अरुण कुमार सिंहले पोखरेल नेतृत्वको समितिले निर्णय गर्ने व्यवस्था हुनु नै गलत भएको दावी गरे ।

“पोखरेलजीको कमिटि साईन्टीफिक छैन, विज्ञहरुको साइन्टीफिक कमिटि बनाउनु पर्छ, त्यसले निर्णय गर्नुपर्छ र कार्यान्वयन गर्ने निकायहरुले कार्यान्वयन गर्नुपर्छ,” नेपाली नेटवर्कसँग उनले भने ।

उनले अन्य देशहरुमा विज्ञहरुको उच्चस्तरीय टोली बनेको, त्यसले निर्णय गर्ने गरेको र कार्यान्वयनका लागि विपक्षी दलसहितको समिति बनाइएको जानकारी पनि दिए ।

कोरोनाभाइरसको महामारीले सवैलाई उत्तिकै असर पारेकाले नियन्त्रण गर्ने जिम्मेबारी पनि सवैको भएको बताउदै उनले सरकारले प्रतिपक्षलाई सँगसगै लिएर जानुपर्नेमा जोड दिए ।

“कोरोनाबाट काँग्रेस मात्र मरेका छैनन, कम्युनिष्टहरु पनि मरेका छन्, त्यसैले प्रधानमन्त्रीले अहंता त्याग्नुपर्योे ,” डा सिंहले भने ।
प्रधानमन्त्रीको अहंताकै कारणले तयारीका लागि नेपालले पर्याप्त समय पाएर पनि केही नगरेको उनले आरोप लगाए ।

उनले स्थीतिलाई नियन्त्रणमा राख्नका लागि आफुले पनि धेरै योजना बनाएको जानकारी दिदै केन्द्रीय स्तरमा २५ हजार शैया, हरेक प्रदेशमा पाँच हजार र हरेक निर्वाचन क्षेत्रमा पाँच सय शैया कोरोना सङ्क्रमितका लागि तत्काल बनाउन सुझाव दिए ।

चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुको अभाव रहेको भन्ने सरकारी भनाईको खण्डन गर्दै उहाँले नेपालमा पर्याप्त स्वास्थ्यकर्मीहरु रहेको दावी गरे ।

उनले मेडिकल काउन्सीलका अनुसार २६ हजारभन्दा बढी चिकित्सक नेपालमा रहेको र ती मध्ये झण्डै दुई सय जनाले मात्रै अहिले कोरोनाका लागि काम गरेको बताए ।

काउन्सीलमा दर्ता भएका सवैलाई परिचालन गर्न सकिने, मेडिकल कलेजमा पढ्दै गरेका र नर्सिङ कलेजमा पढ्दै गरेकालाई पनि १०÷१५ दिनको तालिम दिएर उपचारमा पूर्ण रुपमा खटाउन सकिने डा. सिंहको भनाई छ ।

उनले झण्डै ३० हजार चिकित्सकहरुलाई परिचालन गर्न सकिने र उनीहरुले स्थीतिलाई नियन्त्रणमा लिनसक्ने दावी पनि गरे ।
ललितपुरको सर्वाङ्ग अस्पतालमा कार्यरत कलेजो सम्वन्धी रोगका विशेषज्ञडा. सिंहले नेपालमा अहिले कमजोर पद्धतीबाट कोरोनाको उपचार भइरहेकाले निको हुने दर कम भएको जानकारी दिए ।

महामारीको मौकामा चरम ठगी भइरहेको बताउदै उनले त्यस्तालाई प्रधानमन्त्रीले नजोगाए कस्ले जोगाएको छ त भनेर प्रतिप्रश्न पनि गरे ।