पोखरामा १० वर्षे बालिका मृत फेला,बलात्कारपछि हत्या गरेको आशंका - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

पोखरामा १० वर्षे बालिका मृत फेला,बलात्कारपछि हत्या गरेको आशंका



काठमाडौं । कास्की पोखराकी एक १० वर्षे बालिका मृत फेला परेकी छिन् । पोखराको पुम्दीभुम्दीमा बिस्कुट किन्न घरबाट पसल गएकी श्रीया विकको मृत्यु भएको हो ।

सोमबार साँझ साढे ५ बजे बिस्कुट किन्न पसल हिँडेकी पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित कोदीकी विक मंगलबार मृत फेला परेकी हुन् ।

घरबाट पसलतर्फ जाने बाटो नजिकैको झाडीमा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।

स्थानीयले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेका छन् । बिस्कुट किन्न हिँडेकी श्रीया अबेरसम्म घर नआएपछि आफन्तले खोजी सुरु गरेका थिए । मंगलबार बिहान ८ बजेतिर स्थानीयले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । श्रीया लीला आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिइन् ।

झाडीमा मृत भेटिएकी श्रीयाको शव घटनास्थलमा घोप्टो परेको अवस्थामा थियो । निधारमा ढुंगाले हानेको जस्तो चोट रहेको र रगत लागेका तीनवटा ढुंगा शवसँगै रहेको पाइएको छ । उनको शरीरको तल्लो भागको कपडा खोलिएको र माथिको भागको कपडा घाँटीसम्मै सारेको अवस्था थियो ।

यो घटनापछि आफन्त र स्थानीयले हत्यारालाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् । प्रहरीले घटनास्थलबाट उनको शव पोस्टमार्टमका लागि अस्पताल लैजान खोज्दा स्थानीय र आफन्तले शव लैजान नदिने भन्दै नाराबाजीसमेत गरेका थिए ।

स्थानीयले बलात्कारपछि उनको हत्या भएको आशंका गरे पनि प्रहरीले भने पोस्टमार्टम रिपोर्ट आएपछि मात्र वास्तविकता बाहिर ल्याउने बताएको छ ।