प्रधानमन्त्री ओलीको यस्तो मजाक - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

प्रधानमन्त्री ओलीको यस्तो मजाक



छातीको समस्या हट्दै गएपछि प्रधानमन्त्री केपी ओली बालुवाटार फर्किन आतुर देखिएका छन्।

एन्टिबायोटिक औषधिको डोज सकिएपछि उनले आफूलाई छिटो डिस्चार्ज गर्न चिकित्सकलाई आग्रहसमेत गरेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

पाँच दिनदेखि सुईबाट लिइरहेको एन्टिबायोटिकको डोज सकिएपछि बिहीबारबाट उनले औषधि सेवन थाल्दै छन्। प्रधानमन्त्री ओलीले बुधबार अस्पतालमै बोलाई गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालाई भेटी आवश्यक निर्देशन दिए।

उनी सोमबारदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उपेक्षित सुधार भएको सेन्टरका कार्यकारी निर्देशक प्राडा। उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए।

प्रधानमन्त्रीले नियमित खाना खान थालेको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा अरुण सायमीले बताए। ‘दाल, भात, तरकारीसहितको खाना खानुभयो’, उनले भने, ‘तन्दुरुस्त हुँदै जानुभएको छ। डिस्चार्ज गरिहाल्दा फेरि दौडधूप भई संक्रमण हुने भएकाले फकाइफुल्याई राखेका छौं’, उनले भने।

एक दशकअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता घटेको र नजिकै रहेर भेटघाट गर्दा पनि संक्रमण हुने सक्ने एक चिकित्सकको भनाइ छ।

डिस्चार्ज गर्न प्रधानमन्त्री ओलीले दबाब दिइरहेका छन्। ‘मलाई पाता कसेर राख्न लागेको हो कि क्या हो?’ भन्दै प्रधानमन्त्री ओलीले ठट्यौलीसमेत गर्न थालेको डा. सायमीले बताए।

डा. सायमीको संयोजकत्वमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाह र डा. सन्तकुमार दास प्रधानमन्त्रीको उपचारमा संलग्न छन्।