दौडेर प्रधानमन्त्री बनेको होइन, काङ्ग्रेसले मेरो अपमान गर्‍यो - प्रम ओली - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

दौडेर प्रधानमन्त्री बनेको होइन, काङ्ग्रेसले मेरो अपमान गर्‍यो – प्रम ओली



काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा काङ्ग्रेस सांसदहरूले आफ्नो अपमान गरेको आरोप लगाएका छन्।

मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जबाफ दिएपछि सांसदहरूले प्रश्न गरेका थिए। जबाफ दिने क्रममा प्रधानमन्त्रीले निम्छरो विषय बाहेकको जबाफ दिन्छु भनेपछि हङ्गामा भएको थियो।

बुधबार जनतासँग प्रधानमन्त्री कार्याक्रममा प्रधानमन्त्री ओलीले भने, ‘संसदमा मेरो अपमान गरियो। तथानाम प्रश्न गरिएको थियो।’

वाइडबडी, बालुवाटार प्रकरणमा कसैलाई निर्दोष घोषणा गर्ने अधिकार कसले दियो भन्ने जस्ता प्रश्न गरिएको भन्दै उनले भने, ‘मैले तपाईँलाई निर्दोष हुनुहुन्छ भन्न न्यायाधीश हुनुपर्छ र ?’

उनले अघि भने, ‘म पनि दौडेर गएर प्रधानमन्त्रीको  कुर्सीमा बसेको होइन, जनताको राम्रै बहुमतले छानिएको हुँ। म कसैलाई मन नपर्नु बेग्लै कुरा हो, आम जनताले मन पराएको छ। जभाभावी बोल्नु बाञ्छनीय होइन।’

काङ्ग्रेस नेताहरूले आफ्ना सांसदलाई संसदीय अभ्यासबारे प्रशिक्षण दिनुपर्ने ठानेको तर नेताहरू नै अगाडि लागेर चर्को व्यवहार देखाएको भन्दै उनले लोकतान्त्रिक संस्थाहरूको अपमान नगर्न आग्रह गरे।