प्रधानमन्त्री ओलीले भने : जनतासँग माफी माग्न पनि सक्दिन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अब जनतासँग क्षमा माग्ने परिस्थिति पनि सकिएको बताएका छन् ।
नेपाल उद्योग परिसंघको १२ औं वार्षिक साधारणसभाको काठमाडौंमा उद्घाटन गर्दै उनले जनताले काम गर्नका लागि सबै अनुकूलता सृजना गर्दिसकेकाले अब कुन मुखले माफी माग्न जाने भन्दै प्रश्न गरेका हुन् ।
‘बहुमत नुहँदा मुलुकमा अस्थिरता भयो भनियो, जनताले बहुमत दिए । राजनीतिक स्थायित्व पनि दिए । अब पनि केही गर्न नसके जनताका अघिल्तिर के मुख लिएर जाने ?’ प्रधानमन्त्री ओलीको प्रश्न थियो ।
अरुलाई दोष दिएर पानी माथिको ओभानो हुन कोही पनि नसक्ने भन्दै ओलीले जनतासँग क्षमासम्म माग्ने अवसर पनि गुमाइसकिएको बताएका हुन् ।
ओलीले जनता निराश बन्दै गएको स्वीकार्दै प्रधानमन्त्री ओलीले उनीहरुको मनोवल बढाउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने जोड दिए ।
विकासको लागि आ–आफ्नो ठाउँबाट नेतृत्व गर्न उनले राजनीतिज्ञ, प्रशासक, व्यवसायी, उद्योगीलगायतलाई आह्वान पनि गरे ।
अहिले असन्तुष्टि व्यक्त गर्ने समय नभएको भन्दै ओलीले सबैलाई आ–आफ्नो ठाउँबाट मुलुकको विकासमा समर्पित भई योगदान गर्न आग्रह गरे । मुलुकमा लगानीको वातावरण भएको जिकीर गर्दै प्रधानमन्त्री ओलीले ढुक्क भएर लगानी गर्न व्यवसायीहरुलाई अपील पनि गरे ।
कर तिर्ने र पारदर्शी रुपमा व्यवसाय गर्ने वातावरण सरकारले बनाएको भन्दै ओलीले ठग्ने र कर नतिर्ने व्यवसायीलाई भने उम्कन नदिने, कारवाही गरेरै छाडिने दृढता देखाए ।