प्रधानमन्त्रीको सचिवालयबाटै यसरी हुन्छ झुटको खेति !
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वप्नद्रष्टा देखाउन तत्कालिन नेकपा एमाले र हालको नेकपाका नेता कार्यकर्ताहरु लागिपरेकै छन्। केपी ओली भिजनरी नेता हुनुहुन्छ भनेर स्थापित गराउन पनि चर्कै मेहेनत छ। केपी ओलीको देवत्वकरणमा कुनै कसर वाँकी नराखिकन नेता कार्यकर्ताको पङति लागेकै छ।
केपी ओलीले चुनावका बेलामा अनेक चुनावी नारा दिएका थिए। रेल देखि पानीजहाजसम्म। घरघरमा ग्याँस पाइपदेखि जेष्ठ नागरिकलाई घरमै ५ हजार रुपैयाँ पुर्याउनेसम्मका गफ पनि ओलीले दिएकै थिए।
प्रधानमन्त्रीमा वहाल भइसकेपछि विगतमा गरिएका वाचाहरु पुरा गर्नुभन्दा पनि त्यसलाई टालटुले जवाफ दिएर ओली पन्छिन खोजिरहेका छन्। ओलीको ध्यान अहिले आफूले विगतमा गरेका वाचा पुर्याउन भन्दा पनि सम्पूर्ण राज्यसत्ता कब्जामा रहेको छ। न्यायालयलाई पूर्ण रुपमा गिजोलेका ओलीले राज्यका एक पछि अर्को अंगहरुलाई आफू अनुकुल बनाउनलाई नै अहिले पहिलो प्राथमिकता दिएका छन्।
निजामती, प्रहरी, न्यायालय, संवैधानिक अंग हुँदै अब सेनामा ओलीको आँखा परेको छ। एकातिर ओली राज्यका सबै क्षेत्र र निकायमा एकलौटी गर्न उद्यत हुँदै गर्दा उनको सचिवालय पनि उनलाई कुनै पनि हालतमा उत्कृष्ट देखाउन दिलोज्यान दिएर लागिपरेको छ।
केपी ओली धेरैजसो भर आफ्नो सचिवालयमा पर्छन। उनले त्यसका लागि पार्टीका विभिन्न तह र तप्कामा काम गरेकाहरुलाई लिएका पनि छन्। सल्लाहकार र विज्ञका रुपमा उनको सचिवलायमा अनेक चेहराहरु छन्। यि सल्लाहकार र विज्ञहरु प्रधानमन्त्रीको छवीलाई दिनरात नभनी उजिल्याउन लागिपरेकै छन्। तर हुँदै नभएको सफेद झुटलाई लिएर प्रधानमन्त्री ओलीको छवी उजिल्याउलान भनेर कमैले मात्र कल्पना गरेका थिए होलान।
हुन त सचिवालयका व्यक्तिहरुलाई दोष दिएर मात्र उम्किने अवस्था छैन। चुनावको बेलामा गरिएका वाचाहरु पुरा नहुँदा जनताको बीचमा बढ्दो नैराश्यतालाई भुल्याउन पनि प्रधानमन्त्रीकै निर्देशनमा झुटो प्रचार गरिएको समेत वाहिर आएको छ।
प्रधानमन्त्रीको सचिवालयका विज्ञहरु अनेक झुटका पुलिन्दाहरु र प्रोपोगण्डा गर्नमा लागिपरेका छन्। यस्तै झुट र प्रोपोगण्डा सचिवालयका सञ्चार विज्ञले सामाजिक सञ्जालमा व्यक्त गरेका छन्।
आफू निकटकालाई प्रोपोगण्डा चलाउन लगाउने र त्यसलाई केपी ओलीको पक्षमा वकालत गर्ने साधन बनाउँदा केपी ओलीको सचिवालय नराम्री चिप्लिएको छ।
केपी ओलीले चुनाव अघी भान्सा भान्सामा ग्यास सिलिन्डरको झण्झट नरहने भन्दै ग्यासँपाइप प्रत्येक भान्सासम्म पुर्याइने बताएका थिए। तर पूर्वाधारको अभावमा त्यो तत्काल सम्भव थिएन। तर त्यसलाई हामीले गरेका छौ भन्ने देखाउन छिमेकी देशको एउटा समाचार संस्थाले प्रकाशित गरेको तस्विरलाई नेपालको भन्दै प्रचारमा केपी ओलीको सचिवालय उत्रिएको छ।
भारतको हिन्दुस्तान टाइम्सले प्रकाशित गरेको इन्दोर शहरको एक समाचारको तस्विरलाई विराटनगरको भन्दै घरघरमा ग्याँसको पाइप पुर्याइएको तथाकथित समाचार प्रकाशित गरिएको छ।
प्रधानमन्त्री ओलीका स्वकिय उपसचिवको हैसियतमा रहेका सञ्चार विज्ञ रामशरण वजगाईले ट्वीटरमा सो तस्विर सहितको समाचारको लिङकमा आफ्नो शब्द पनि राखि ट्वीट गरेका छन्। केहि रिट्वीट पनि भएको सो लिङकको झुट धेरै समय टिक्न सकेन। ३ अगस्टमा वजगाईले गरेको ट्वीटको तस्विरलाई आधार बनाएर नेपाली नागरिकलाई झुक्याउन खोजिएको प्रोपोगण्डा मात्र रहेछ भनेर पत्ता लाग्यो। वजगाईले ट्वीटमा यति पनि लेख्न भ्याएका थिए, ‘केपी ओलीलाई गाली गर्नेलाई झापड, विराटनगरमा पाइपबाटै घरघरमा ग्याँस।’
प्रधानमन्त्रीका सञ्चार विज्ञले यो ट्वीट गरेपछि विराटनगरमा हाम्राकुराले यस्को सत्य तथ्य बुझ्दा विराटनगर १४ मा स्थानिय गौ सेवा सदनको गौशालाबाट नेपाल उर्जा विकास कम्पनीले तयार गरेको वायो ग्यास प्लान्टबाट ग्याँस आपूर्ती गरेपनि प्रधानमन्त्री बन्नु अघी केपी ओलीले भन्ने गरेको झै एलपिजी ग्याँस भने अहिलेसम्म पाइपबाटै कुनै पनि घरमा ग्याँस वितरण नभएको पाइयो। यो प्रकरणमा प्रधानमन्त्रीको सचिवालयले पुरै झुटो तथ्यलाई लिएर प्रोपोगण्डामा उत्रिएको मात्र पाइयो। प्रधानमन्त्रीलाई हाम्रो प्रश्न यस्तो झुटको खेती आखिर कहिलेसम्म हो प्रधानमन्त्रीज्यू?
हाम्राकुराको सहयोगमा