प्रधानमन्त्रीकै नाममा सञ्चालित परियोजनामा भ्रष्टाचार - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

प्रधानमन्त्रीकै नाममा सञ्चालित परियोजनामा भ्रष्टाचार



काठमाडाैं। प्रधानमन्त्री केपी ओलीले ठूला परियोजनाको अनुगमन आफैँ गर्ने तयारी गरिरहेका छन् । तर, प्रधानमन्त्रीकै नाममा सञ्चालित कृषि आधुनिकीकरण परियोजनामा भ्रष्टाचार बढ्दो छ ।

यसअघि नै यही परियोजनामा अख्तियारले दुईवटा भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ भने केही उजुरीमा छानबिन गरिरहेको छ । गत ९ जेठमा मात्र अख्तियारले साबिकको जिल्ला कृषि विकास कार्यालय पर्साका वरिष्ठ कृषि विकास अधिकृत वीरेन्द्रप्रसाद सिन्हा र लेखापाल सत्यनारायण सहनीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

सहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वयन इकाइ नेपालगन्जमा सबइन्जिनियर पदमा कार्यरत रहेका राकेशकुमार महतो, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (तरकारी जोन) पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरी, नितु कन्स्ट्रक्सनका प्रोपाइटर निर्माण व्यवसायी रामलाल राउत कुर्मी र निर्माण व्यवसायी सन्नी यादवविरुद्ध मुद्दा दर्ता भएको थियो ।

कृषि विकास अधिकृत सिन्हा, लेखापाल साहनी र सबइन्जिनियर महतोविरुद्ध एक लाख ४७ हजार तीन सय दुई रुपैयाँ बिगो दाबी गरिएको थियो । आर्थिक वर्ष ०७४÷७५ को बजेटमा कार्यालय प्रांगणमा निर्माण तथा मर्मत कार्य गर्दा लागत अनुमान टुक्र्याइ व्यवसायीसँगको मिलेमतोमा प्रतिस्पर्धालाई सीमित हुने गरी टुक्राटुक्रा पारी कोटेसनबाट काम गराई अनियमितता भएको थियो ।

न्यून गुणस्तरको सामान प्रयोग गरी रङरोगन गरेको साथै प्राविधिकबाट जाँच गराई नक्कली ठेक्कासम्बन्धी बिल, कार्यसम्पन्न प्रतिवेदन र नापी किताब बनाएर भुक्तानी दिइएको थियो । अनुसन्धानबाट सबइन्जिनियर महतोले अनधिकृत रूपमा डिभिजन कार्यालय पर्साको नक्कली लेटरहेडमा नक्कली छाप बनाएर हस्ताक्षर गरी कार्यसम्पादन प्रतिवेदन बनाएको खुलेको छ ।

तरकारी जोन पर्साका सञ्चालक समितिका अध्यक्ष रामेश्वर महतो कोइरीले प्रतिफलमा आधारित प्रोत्साहन अनुदानको रकम वितरण गर्दा भर्पाइमा अंक थप्ने, सच्याउने एवं कम रकम वितरण गरी बढी रकमको भर्पाइ बनाएका थिए ।

निर्माण व्यवसायी रामलाल राउत कुर्मी र सन्नी यादवले लागत अनुमान, कार्यसम्पन्न प्रतिवेदनलगायत कागजातमा डिभिजन कार्यालय पर्साको हेडर र छाप प्रयोग भएको नक्कली कागजात तयार पारेका थिए ।

त्यस्तै, गत वर्ष २ भदौमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ सुपरजोन (गहुँ) कैलालीका परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामनन्दन यादव घुुससहित पक्राउ परेका थिए ।