प्रधानमन्त्रीले भने : कांग्रेसले निकै अफ्ठ्यारोमा पार्ने भो - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रधानमन्त्रीले भने : कांग्रेसले निकै अफ्ठ्यारोमा पार्ने भो



काठमाडौं- कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको चौतर्फी आलोचना भैरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले काम गर्न नदिएको र सहयोग नगरेको आरोप लगाएका छन् । देश कोरोना महामारीले थालिएको बेला सहयोग गर्नुपर्नेमा उल्टै काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूसँग कांग्रेसले निकै अफ्ठ्यारो पारेको भन्दै गुनासो गरेका छन् । करिव चार घण्टा चलेको उक्त बैठकमा लामो समय नेपाली कांग्रेसले सहयोग गर्नुको साटो कामै गर्न नदिएको भन्दै बेलिबिस्तार लगाएका थिए ।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले महामारीका बेलामा पनि कांग्रेस निकै आक्रामक बनेको, संसदमा पनि चाहिने नचाहिने विषय उठाएको, जे मा पनि भ्रष्टाचार भएको भन्दै हल्ला गरेको तथा जनता भड्काएको बताएका थिए ।

बैठकमा करिव एक घण्टा कांग्रेसकै कुरा गरेका प्रधानमन्त्री ओलीले कांग्रेसले सहयोग गर्छ कि भनेर विश्वास गर्दा उल्टै घात गरेको बताएका थिए । सरकारका हरेक कामको कांग्रेसले बदनाम गरेको भन्दै थप सचेत हुन मन्त्रीहरूलाई सुझाव समेत प्रधानमन्त्रीले दिएका थिए ।

‘महामारी चलिरहेको छ, देशको बेहाल भएको छ, रचनात्मक सहयोग गर्नुपर्ने बेलामा पनि कांग्रेसले चाहिने नचाहिने विषय उचालेको छ उचालेको छ । सबैले मिलेर कोरोनको सामना गर्नुपर्ने बेलामा उल्टै त्यो पनि भएन, यो पनि भएन भनेर सरकार असफल बनाउन खोज्यो।’ प्रधानमन्त्रीको भनी उद्घृत गर्दै ति मन्त्रीले भने ।

बैठकमा लामो समय सत्तामा बसेर सबै बेहोरेको कांग्रेसले सबै थाहा हुँदाहुँदै पनि आफूहरूलाई बदनाम गराउन कांग्रेस आक्रामक भएको प्रधानमन्त्रीको आरोप थियो ।