प्रधानमन्त्री ओलीलाई हेमन्त गिरीको पत्र ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रधानमन्त्री ओलीलाई हेमन्त गिरीको पत्र !



सम्माननीय प्रधानमन्त्री ज्यू,,

तपाईँ आक्रामकबाट रक्षात्मक बन्नुभएको छ । भन्न थाल्नु भएको छ- “हामी जादुगर हैनौँ,फ्याट्ट रुमाल देखाएर झ्याट्ट अण्डा निकाल्ने । मलाई कसैले टेरेनन्,कर्मचारी पुलिस प्रशासन कसैले पनि ! यस्तै यस्तै..!”

प्रधानमन्त्री ज्यू,
देश र सिस्टमको अवस्था तपाईँलाई राम्रोसँग थाहा थियो । तर तपाईँ केवल भिड कसरी हाँस्छ र के गरे ताली पड्काउँछ भन्ने कुरामा बढी केन्द्रित हनु भो । दुई तिहाइ भोटको महत्त्व अलि बुझ्नुभएन तपाईँले जस्तो लाग्छ । त्यो शानदार विजय अभिमान भन्दा जिम्मेवारी हो भनेर तपाईका आसेपासेले बताएनन् तपाईँलाई । तपाईँ ऊटपटाँग गरेर हँसाइरहने र उनीहरू सधैँ राज्य संयन्त्रमा तर मारिरहने अवस्थाको सृजना तपाईँ आफैले गर्नु भो । अहिले तपाईँलाई धेरैले जोकर प्रधानमन्त्री भन्न थालिसके । टेर्न छोडिसके सत्य हो ।

समय बितेको छैन । तपाईँ गम्भीर बन्नु पर्छ । साधैको हाँसो ठट्टा र काँग्रेस लगायतका विपक्षीलाई कटाक्ष मात्र गरेर सरकार चलाउन निकै धौ हुन्छ प्रधानमन्त्री ज्यू । यो कुरो तपाईँले बुझिसक्नुभो । अझै चार वर्ष तपाईँ सँग छ । जसले जति विरोध र आलोचना गरे पनि गणितीय रूपमा तपाईँको सरकार ढाल्ने सामर्थ्य कसैमा छैन ।

तपाईँ एक्लो मान्छे,लैजानु पनि पक्कै केही छैन र थुपारिदिनु पनि कसैलाई केही छैन पक्कै । तपाईँको कमजोरी भनेको तपाईँको स्वेच्छाचारी शैली र ‘सेन्स अफ कृटिकल ह्यूमर’ हो । तपाईँ जस्तो भाषा प्रयोग गर्नुहुन्छ ती भाषा या विपक्षी नेतालाई या गाईजात्राको हांस्य-व्यङ्ग्य कलाकारलाई मात्र सुहाउँछन्। तपाईँ प्रधानमन्त्री हो, तपाईँलाई सुहाउँदैनन् । तपाईँको अर्को कमजोरी भनेको गुटको संरक्षण र गुटका मानिसको आरक्षण हो जसको कारण तपाइकै पार्टी भित्र ठुलो भुसको आगो सल्किइरहेको हामी बाहिरका मान्छेले पनि देख्न र महसुस गर्न सक्छौँ ।

विरोध हैन प्रधानमन्त्री ज्यू, सदीक्षा हो । चार वर्ष अझै पनि देश तपाईँको हातमा छ । चार वर्षको तपाईँको सत्प्रयासले कम्युनिस्ट पार्टीलाई थप दश वर्ष देश चलाउने जिम्मेवारी र अवसर प्रदान गरिरहन सक्छ । अहिलेकै अवस्था हो भने चाहिँ विश्व बाट हराइरहेको कम्यूनिज्म कम्तीमा नाममा त बाँकी थियो नेपालमा,त्यो पनि हराउने खतरा हामी देख्छौँ ।

हामी आलोचकहरू बरु तपाईँका सच्चा साथी हौँ,शुभचिन्तक हौँ । तपाईँले जसो गरे पनि तपाईँको बचाऊमा अरूलाई आक्रमण गर्ने अरिङ्गालहरू भने तपाईँलाई,तपाईँको पार्टीलाई र सिङ्गो कम्युनिस्ट सिद्धान्तलाई अफ्टेरोमा पार्ने साधन र कारण बन्न सक्छन् होस पूर्याउनुहोला ।

मानिसहरूले कुरा गरिरहेको सुन्छु म- “हामीले कमाउने,हामी बन्ने मौका यही हो । पहिले काँग्रेसले खायो अब हामीले खाने हो “। यस्तो भन्ने मानिसहरू तपाईँको बचाऊ गर्न लागि पर्ने गर्छन् । तपाईँको सफलता र प्रतिष्ठाको लागि होइन,आफ्नो स्वार्थ सिद्धिको लागि ।

स्वयम् तपाईँलाई अनुभूत भइसक्यो मानिसले तपाईँलाई टेर्न छोडिसके । अभिभावक ‘वेटलेस’ भए भने सन्तानले टेर्न छोड्छन् प्रधानमन्त्री ज्यू, नमिठो सत्य यही हो । धेरै केही गर्नै पर्दैन । काम यो वा यो भन्दा थोरै बढी बढी रफ्तारमा गरे पनि हुन्छ, जादुको छडी कसैले खोजेका पनि छैनन् तर मुख कम चलाउनुस् बिन्ती । जे बोलोस् तपाईँको कामले बोलोस् । चार वर्ष अझै बाँकी छ । हाम्रा प्रधानमन्त्रीलाई सबैले टेर्ने,सबैले सहयोग गर्ने र सबैले ‘वाह’ भन्ने परिस्थिति बनोस् ।

तपाईँको शुभचिन्तक हेमन्त गिरी,परदेशबाट