प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाइयो, निजी चिकित्सक सम्पर्क बाहिर - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था लुकाइयो, निजी चिकित्सक सम्पर्क बाहिर



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था गोप्य राख्न खोजिएको छ। प्रधानमन्त्रीको सचिवालय, अस्पताल र उपचारमा संलग्न चिकित्सकहरू सबैलाई उनको अवस्था गोप्य राख्न उर्दी जारी गरिएको बुझिएको छ ।

मंगलबार भाइटिकापछि बिरामी परेका ओलीलाई बुधबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो। भर्नापछी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था, दिनभरि गरिएको उपचार र त्यसको रिपोर्टको अवस्थाबारे उनको सचिवालयसँगै अस्पताल प्रशासनले समेत लुकाउने प्रयास गरेको छ।

देशकै महत्वपूर्ण पदमा बसेका व्यक्तिको स्वास्थ्य अवस्था लुकाउन खोजेको भन्दै सामाजिक सञ्जालमा बिरोध पनि सुरू भएको छ । त्यतिमात्र होइन उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी चलिरहेको छ ।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंह शाह सञ्चारको सम्पर्कमै सम्पर्कमा आउन खोजेकी छैनन् । ग्राण्डी अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे केहि बताउन नमिल्ने भन्दै पन्छिएका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले पनि बनावटी जवाफ दिने गरेको छ। दिउसोसम्म नियमित चेकजाँच मात्र भनेको सचिवालयले अहिले भने समस्या नभएको बताउन थालेको छ । नेकपाकै नेताहरूलाई समेत ओलीको अवस्थाबारे स्पस्ट नबताइएको बुझिएको छ ।

अस्पताललाई सम्पर्क गर्दा सचिवालयमा सोध्न लगाउने र सचिवालयलाई सोध्दा अस्पताललाई थाहा हुने भन्दै जवाफ फर्काउने गरिएको छ ।

झण्डै १३ वर्ष अघि नयाँ दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले गत भदौमा झण्डै २० दिन सिंगापुरमा रहेर प्लाज्मा फेरेसिस गरेका थिए।