प्रधानमन्त्री हटाउनेबारे डा. भट्टराईका यस्ता साइत
काठमाडौं- पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले अनावस्यक चिन्ता लिएर ज्यान सुकाएको टिप्पणी गरेका । डा. भट्टराईले संविधानमै व्यवस्था नभएको कुरामा ओलीले चिन्ता लिएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारत र नेपालभित्रै शक्तिहरुले प्रधानमन्त्रीबाट हटाउन लागिपरेको बताएपछि डा. भट्टराईले नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै दल बाहेक अरु कसैले हटाउने व्यवस्था नभएको हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति अनुपयुक्त भएको बताएका छन् ।
ट्वीटमा डा. भट्टराईले लेखेका छन्, ‘बहुमत प्राप्त प्रधानमन्त्रीलाई आफ्नै पार्टीले बाहेक अरूले हटाउन सक्ने व्यवस्था हाम्रो संविधानमा छैन, तर अहिले हटाए नक्सा छापेको करणले हुने भोलि सलहले दुख दिएको बेला हुने ? पछि बाढीपहिरो आएको बेला हुने ? अलिपछि दशैं–तिहारको बेला हुने ? अनि जाडोको बेला हुने ? उचित बेला चैं कैले रच हँ ?’
आइतबार मदन भण्डारी फाउण्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेकै कारण पदबाट हटाउने खेल सुरु भएको गुनासो गरेका थिए ।
नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको नेतृत्व गर्न सफल नभएको भन्ने आवाज उठिरहेका बेला प्रधानमन्त्रीले उक्त अभिव्यक्ति दिएका हुन् ।