निर्वाचन आयोगसँग प्रधानमन्त्री ओली 'फायर' - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

निर्वाचन आयोगसँग प्रधानमन्त्री ओली ‘फायर’



काठमाडौँ- प्रधानमन्त्री केपी ओली निर्वाचन आयोगसँग ‘फायर’ बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको तयारी नगरेको भन्दै प्रधानमन्त्री ‘फायर’ भएको बुझिएको छ ।

सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री ओलीले चर्को असन्तुष्टि व्यक्त गरेको बताइएको छ । निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री सन्तुष्ट नभएको चर्चाकाबीच उनले सर्वाज्जनिक रूपमै असन्तुष्टि ब्यक्त गरे ।

७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिंदै गर्दा पनि आयोगले कार्यतालिकासमेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।

‘निर्वाचन गर्नुपर्ने निकायले समयमा गर्नुपर्दछ,’ उनले भने, ‘मैले प्रतिनिधि सभा विघटन गरेपछि ६ गते नै बोलाएर आयोगलाई तयारी गर्नुस् भनेको थिएँ । मैले अस्ती गएर पनि सोधेँ। तयारी गर्दैछौ भन्नु भयो । तर कार्यक्रम प्रकाशित भएको छैन । के तयारी गर्नुभयो ? आयोगको काम त्यति राम्रो देखिएको छैन । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्ने गरी तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गराए ।

देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षड्यन्त्रले निर्वाचनलाई रोक्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे । उनले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफूले परास्त गरेको बताए ।

ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उनको भनाइ छ । ओलीले दाहाल-नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै आफू झगडियाको बीचमा नपर्ने उल्लेख गरे।