प्रधानमन्त्री ओलीका बुवा भन्छन्: ‘छोरो निरोगी भए देश बनाउँथ्यो होला’ - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

प्रधानमन्त्री ओलीका बुवा भन्छन्: ‘छोरो निरोगी भए देश बनाउँथ्यो होला’



उमेर ९० वर्ष। स्वस्थ शरीर। प्रधानमन्त्री केपी ओलीका पिता मोहनप्रसाद ओली चिना हेर्छन्। हिँडडुल गर्छन्।

कान अलिक कम सुन्छन्। अन्य समस्या केही छैन। बिहान १० देखि ११ बजेभित्र भद्रपुरस्थित हिमाली चोकमा पुगेनन् भने स्थानीयलाई चासो हुन्छ – ‘आज ओली बालाई के भयो?’

चोकमा भेटिने सबैका विषयमा उनलाई जानकारी छ। छोरा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था ठीक रहेको उनी बताउँछन्।

‘कहिलेकाहीं छोरा भेट्न काठमाडौं जाऊँजस्तो लाग्छ’, उनी भन्छन्, ‘बुझ्दा अहिले ठीकै छ भनेका छन्।’ अवस्था सामान्य होला भनेर अस्पताल नगएको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा झापाबाट राधा खनालले लेखेकी छन्।

मोहनप्रसादलाई काठमाडौंमा रहेका छोरा केपीको मायाले तान्छ। काठमाडौंको समाज र वातावरणमा घुलमिल हुन भने उनलाई गाह्रो लाग्छ। ‘हजुरबा त्यता जान हुँदैन है भन्छन्, खुला हुन्न, मान्छे चिनिँदैन’, उनी भन्छन्, ‘नानी (प्रधानमन्त्री ओली) पनि बोल्न त्यति भ्याउँदैन। तर, उसको अनुहार हेर्न पाउँदा खुसी लाग्छ।’

प्रधानमन्त्री ओलीको कुरा गर्नासाथ उनी बाल्यकाल बताउन थाल्छन्। ‘आमा सानैमा बितिन्, आमा खस्दा ध्रव (केपी) चार वर्षको थियो’, उनी भन्छन्, ‘केपीपछि छोरी जन्मेकी थिई। आठै महिनामा बितिन्। त्यसको तीन महिनामै आमा पनि बितिन्।’

उनका अनुसार केपीले आमाको दूध राम्रोसँग खान पाएनन्। रुघा अलिक बढी लाग्थ्यो। भन्छन्, ‘पहाडमा सम्पन्न परिवार मधेस झरेपछि दुःख पायौं।’ केपीकी आमा बितेपछि उनले दोस्रो विवाह गरेका थिए। दोस्री पत्नीबाट तीन छोरी र एक छोरा छन्। मोहनप्रसाद छोरा जेपी ओलीसँग बस्दै आएका छन्।

मोहनप्रसाद २०३० सालमा तेह्रथुम आठराईबाट झापा झरेका हुन्। दमकको चप्रामारीमा घरसँगै अलिकति जग्गा लिएर सपरिवार बसेका थिए। बाढीले बगाएपछि परिवार अन्यत्र सरेको थियो। ‘अहिले चप्रामारीमा एउटा सानो घर छ। अरू सबै खोलाले हुत्यायो’, उनी भन्छन्।

उनका अनुसार केपी २०२८ सालदेखि रोगी भए। २० वर्षको उमेरदेखि नै भुँडी दुख्यो भन्थे। उनलाई मीठो खानुपथ्र्यो। २०३९ सालमा जेल परेपछि रोगले पेल्दै गएको मोहनप्रसाद सुनाउँछन्।

‘जेलबाट निस्किँदा त मान्छेको अनुहार मात्र थियो’, उनी सम्झन्छन्, ‘मेरी आमालाई उसले महतारी भन्थ्यो। महतारीले उसलाई निकै पुल्पुलाउनुहुन्थ्यो। जेलमा भेट्न पनि आमा नै जानुहुन्थ्यो।’

सुरुमा काठमाडौं सेन्ट्रल जेलमा थियो। पछि नख्खु र पोखरामा। ‘छिट्टै रिहा हुन पाइन्छ भनेर उसले मेरो नाम लेखाएको थिएन। त्यसैले आमाले जेलमा एकपटक भेट्नुभयो’, उनी भन्छन्। केपीको ध्यान कमाउन–जमाउनमा कहिल्यै नगएको उनी बताउँछन्। भन्छन्, ‘छोरो निरोगी भए देश बनाउँथ्यो होला।’

प्रधानमन्त्री ओलीकी भाइबहुारी इन्दिराले दाजु (जेठाजु)ले बुवालाई आफूसँगै लैजाने इच्छा राखेको बताइन्। ‘बुवा काठमाडौंमा धेरै बस्न मान्नु हुन्न’, उनले भनिन्, ‘आफूले संघर्ष गरेको ठाउँ भएर पनि होला, दिनमा एकपटक यहाँको बजार र चोक परिक्रमा नगरी बुवालाई चित्त बुझ्दैन।’