के भएको हो प्रधानमन्त्री ओलीलाई ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा एकाएक समस्या आएको बताइएको छ । स्वास्थ्य अवस्था बिग्रिएकै कारण आजका लागि डाकिएको सचिवालय बैठक स्थगित भएको छ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री अस्वस्थ रहेको जानकारी दिएका छन् । यो बिषयमा सचिवालयमा भने जानकारी नभएको बताइएको छ ।
निकै चासोका दृष्टिले हेरिएको आजको सचिवालय बैठक ओली बिरामी परेकै कारण स्थगित गरेपछि सर्वत्र यसको चासो बढेको छ । यसअघि पनि सचिवालय बैठक जेठ २७ गते बस्ने भनिएकै दिन प्रधानमन्त्री ओलीको स्वास्थ्य ठिक नभएको बताउंदै अचानक बैठक स्थगित गरिएको थियो ।
आज अपरान्ह चार बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो। ‘प्रधानमन्त्री अस्वस्थ भएको भन्ने खबर आएको छ,’ प्रवक्ता श्रेष्ठले भने।
यता नेकपाकै वरिष्ठ नेता झलनाथखनालले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्री विरामी हुनुहुन्छ, अर्को बैठक कहिले हुन्छ छलफलपछि थाहा हुन्छ।’
यता प्रधानमन्त्री ओलीलाई खास के समस्या भएकोबारे जानकारी दिइएको छैन । प्रधानमन्त्री ओलीको केहि महिना अगाडी दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएको हो । १३ वर्ष अगाडी प्रत्यारोपण गरिएको मृगौलाले काम गर्न छाडेपछि उनको दोस्रोपटक मृगौला प्रत्यारोपण गरिएको थियो ।
मृगौला प्रत्यारोपण गर्नुभन्दा केहि अगाडी एक्कासी एपेन्डिक्सको अप्रेसन भएको थियो ।