झलनाथ भन्छन: प्रधानमन्त्रीसँग अब कुनै विकल्प बाँकी छैन
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद प्रधानमन्त्री केपी शर्मा ओलीले निकाश नदिएको खण्डमा बहुमतीय प्रक्रियामा जाने भएको छ ।
बाढी र पहिरोको कारण एक साता स्थगित गरिएको स्थायी कमिटिको बैठक मंगलबार बस्ने बस्दैछ । ३२ दिनदेखि जारी स्थायी कमिटि बैठक पटक पटक स्थगित हुँदै आएको छ । सहमतिको प्रयासका लागि स्थगित हुँदै आएको बैठक अब भने स्थगित नगर्ने अडानमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधब नेपाल समुहले लिएको छ ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि औपचारिक रुपमा दुई अध्यक्षबीच सहमति हुन नसकेपछि अब भने विवादले नयाँ मोड लिने देखिएको हो । प्रधानमन्त्री ओली आफ्नो अडानबाट टसमस नगर्ने प्रचण्ड-नेपाल समूह पनि आफ्नो अडानमा कायम रहेकाले प्रक्रिया बहुमतीय प्रक्रियामा जाने देखिएको हो।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि अब बहुमतीय प्रक्रियामा लैजाने र निर्णय गर्ने संकेत गरेका छन् । उनले अब प्रधानमन्त्री ओलीसंग विकल्प नै नरहेको समेत बताएका छन् । स्थायी कमिटीको बैठकबाट कुनै निर्णय नभए बहुमतीय प्रक्रियाका आधारमा निर्णय गर्ने बताए । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कि त दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्यो होइन भने पार्टीले गर्ने निर्णय कुर्नुपर्यो उनले भने । बहुमतीय प्रक्रियाका आधारमा निर्णय गरिने भएकाले जस्तोसुकै निर्णय पनि प्रधानमन्त्री ओलीले मान्नैपर्ने उनको भनाई थियो ।
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल भएको थियो। छलफलमा स्थायी कमिटीको बैठक स्थगित नगर्ने र गर्न खोजेमा प्रचण्डको अध्यक्षतामा बैठक अगाडि बढाउने समझदारी भएको खनालले बताएका छन् ।
‘मंगलबार बैठक बस्छ, पार्टी एउटा निर्णयमा पुग्नैपर्ने हुन्छ, त्यसमा बहुमतको कुरा मान्नैपर्ने हुन्छ।’ उनले भने । खनालले मंगलबारका लागि तय गरिएको बैठक निर्णायक हुनसक्ने पनि बताए। ‘पहिला छलफल हुन्छ, त्यसमा कुनै सहमति नभए नयाँ निर्णय गरेर जानुपर्छ’, उनले भने, ‘त्यसका लागि परिस्थिति हेरेर निर्णय हुनेछ।’
वरिष्ठ नेता खनालले मंगलबारका लागि तय भएको बैठक बस्नैपर्ने अडानमा आफूहरु रहेको बताए। ‘प्रधानमन्त्री ओलीले आफैँ छानेर दुईमध्ये एक पदबाट राजीनामा दिए राम्रै हो, नत्र पार्टीले हटाउने बारेमा निर्णय गर्छ’, खनालले थपे।
अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन माग भएपछि ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्। उनी पनि आफ्नो पक्षमा बहुमत पुर्याउन नेताहरुसँगको छलफललाई तीव्रता दिइरहेका छन्।