साढे २ घण्टा छलफल गरेर शितलनिवासबाट बाहिरिए प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री केपी ओली लामो छलफल गरेर शीतलनिवासबाट बाहिरिएका छन् । करिब साढे २ घण्टा शितलनिवासको छलफलपछि बालुवाटार फर्किएका छन् ।
सर्वोच्च अदालतले एक साताको म्याद दिएर लिखित जवाफ र सक्कल कागजात मागेलगत्तै शितलनिवासमा पुगेका ओली अबेर रातमा त्यहाँबाट निस्किएका छन् । स्रोतका अनुसार साढे ७ बजे त्यहाँ पुगेका ओली १० बजे मात्रै शीतलनिवासबाट निस्किएका छन् ।
मन्त्रिमण्डल विस्तारको तयारीमा रहेका प्रधानमन्त्री ओली सर्वोच्च अदालतको पछिल्लो कदमले झस्किएका छन् । सरकारी वकिलहरूले माग गरेअनुसार संवैधानिक इजलास पनि नफेरिने भएको छ भने संसद विघटनको यसपटकको कदम पनि प्रत्युत्पादक देखिने संकेत देखिएको छ ।
संसद विघटन गर्नु पर्नाका कारणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ। प्रधानमन्त्री ओली अदालतलाई दिने जवाफ लगायतका सम्बन्धमा छलफल गर्न शीतल निवास गएको हुनसक्ने आंकलन गरिएको छ ।
कुनै ठुलो योजनामा भएका बेला राष्ट्रपति भण्डारीसंग लामो छलफल गर्ने प्रधानमन्त्री ओलीले आजपनि लामो छलफल गरेका छन् । उता प्रधानमन्त्री ओलीका विश्वासपात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेश सभा नै भंग गर्ने मनस्थितिमा पुगेको समेत बताइएको छ ।