देउवा–प्रचण्डलाई के ब्रिफिङ गरे प्रधानमन्त्री ओलीले ?

नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ब्रिफिङ गरेका छन्।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई समेत सँगै राखेर मन्त्रिपरिषदले बिप्लबमाथि प्रतिबन्ध लगाउने सम्बन्धमा गरेको निर्णयबारे प्रम ओलीले ब्रिफिङ गरेका हुन्।
सोमबार साँझ मन्त्रिपरिषदको बैठक सकिएलगत्तै देउवा र प्रचण्डलाई बालुवाटार डाकिएको थियो। उनीहरुलाई अन्य केही मन्त्रीका साथम ओलीले निर्णयबारे जानकारी बारे जानकारी गराएका थिए।
स्रोतका अनुसार, प्रम ओलीका साथ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल), नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ ब्रिफिङमा सहभागी थिए।
त्यस अवसरमा बिप्लब समूहका सम्बन्धमा सरकारले पाएका केही गोप्य सूचनाका आधारमा सो समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुपरेको जानकारी देउवा–प्रचण्डलाई गराइएको थियो।
सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेतालाई मन्त्रिपरिषदले गरेको निर्णयको जानकारी गराउनुका अलावा प्रत्यक्ष–अप्रत्यक्ष रुपमा विरोध नहोस् भनेर त्यसबारे जानकारी गराइएको हो।
स्रोतका अनुसार, सरकारले गरेको ब्रिफिङबाट प्रमुख प्रतिपक्षी दलका नेता देउवा कन्भिन्स छन्। त्यसैले, उनले नै सरकारले गरेको यो निर्णयको विरोध हुने सम्भावना अब छैन।
‘कांग्रेसका दोस्रो तहका अन्य नेताहरुले संसदभित्र–बाहिर सरकारको निर्णयको विरोध गर्न सक्छन्’ स्रोतले भन्यो, ‘प्रतिपक्षी धर्म निर्वाह गर्नेक्रममा विरोध गरेपनि मूल नेतृत्वले त्यस्तो गर्नेछैन।’

