पाइलट प्रभाकर केसीको वैशाखमा विवाह तय भएको थियो ! - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

पाइलट प्रभाकर केसीको वैशाखमा विवाह तय भएको थियो !



फिलिपिन्सबाट पाइलट कोर्ष पूरा गरेर काठमाडौं फर्केपछि पाँच वर्षदेखि हेलिकोप्टर उडाइरहेका क्याप्टेन प्रभाकर केसी एयर डाइनेस्टीका एक जना कुशल चालक थिए।

हिमाली क्षेत्रको अप्ठ्यारो अवस्थामा कुशलतापूर्वक उडान, अवतरण तथा उद्दार गर्ने थोरै पाइलटमध्ये उनी एक थिए।

पाइलट सर्कलमा उनी ‘योङ पाइलट’ का रुपमा बढी परिचित थिए। एयर डाइनेस्टीमा भने उनी तीन वर्षअघि जोडिएका थिए। दुई वर्षदेखि उनी क्याप्टेनको भूमिकामा थिए।

काठमाडौं, ताहचल निवासी केसीको घरमा बुबा, आमा र एक दाजु छन्। दाजु दिवाकर कामको सिलसिलामा दुबईमा छन्। दुर्घटनाको खबरपछि उनी नेपाल फर्किंदै गरेको पारिवारिक स्रोतले बतायो।

प्रभाकर अविवाहित थिए। उनको घरमा बिहेको कुरा चलिरहेको थियो।

पारिवारिक स्रोतले नेपालखबरलाई बताएअनुसार परिवार उनको छिट्टै बिहे गरिदिने योजनामा थियो।

‘आउँदो वैशाखमा विवाह गर्ने कुरा चलिरहेको थियो, धेरै कुरा तय भइसकेको थियो’, परिवार स्रोतले भन्यो, ‘यस्तो अवस्थामा अकल्पनीय दुर्घटना हुन पुग्यो।’

मिजासिला, सबैका प्रिय
क्याप्टेन प्रभाकर मिजासिलो स्वभावका थिए। सबैलाई सक्दो सहयोग गर्थे। सामाजिक रुपमा घूलमिल भइहाल्ने उनको बानी थियो। साथीभाइबीच रमाइलो गर्न रुचाउने उनी चाडपर्वमा परिवार सदस्य जम्मा हुँदा ठट्टा गर्ने मुख्य व्यक्ति हुन्थे। सबैलाई माया र सम्मान गर्ने उनको स्वभाव कसैलाई बिझाउने किसिमको थिएन।

दुर्घटना भएको दिन बुधबार प्रभाकरले नाता पर्ने दाई सरोज बस्नेतसँग बिहान ११ बजे सम्पर्क गरेका थिए। उनीहरुबीच कुराकानी पनि भएको थियो। प्रभाकरले सरोजलाई तेह्रथुमका केही तस्विर समेत पठाइदिएका थिए।

यो सामाग्री नेपाल खबरका लागि कृष्ण आचार्यले तयार पारेका हुन्