बोक्सी काण्ड : पीडितलाई न्यायको माग गदै सुखडमा प्रदर्शन
ललित जाग्री
फागुन २७, कैलाली
बिहीबार देशभरि १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा कैलालीको घोडाघोडी नगरपालिका ५ देवकलियामा भने भोलेबाबा भनिने स्थानीय राम बहादुर चौधरीबाट बोक्सीको आरोपमा कक्षा ११ मा अध्ययनरत करिब १८ वर्षीय राधा चौधरीमाथि मरणासन्न हुने गरी कुटपिट भएको थियो ।
त्यसै घटनामा पीडित युवतीलाई न्यायको माग गर्दै उनको पक्षमा संयुक्त विद्यार्थी संगठनहरुले आज सुखडमा प्रदर्शन गरेका छन् ।
राधा चौधरीमाथि अमानबिय व्यवहार गर्नेलाई कडा भन्दा कडा कारबाही गर, राधा चौधरीको निःशुल्क उपचारको व्यवस्था गर, पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर, दोषी लाई कडा भन्दा कडा कारबाही गर, सामाजिक अपराध अन्त्य गर र राधा चौधरीमाथि न्याय गर जस्ता नाराका साथ घोडाघोडी बहुमुखी क्याम्पस र राष्ट्रिय मा.बि.सुखडबाट निकालिएको विरोध –याली घोडाघोडी नगरपालिकाको परिसर पुगेर सुखड बजार परिक्रमा गरी सुखड बजारको चोकमा कोणसभामा परिणत भएको थियो । कोणसभालाई विभिन्न विद्यार्थी सङ्गठनमा आबद्ध विद्यार्थीहरूले सम्बोधन गरेका थिए । विरोध सभाका कारण करिब आधा घण्टा यातायातका साधन पनि ठप्प रहेका थिए ।
पीडित राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने राम बहादुर चौधरीलाई पक्राउ नगरेको भन्ने चौतर्फी विरोधी भएपछि उनलाई शुक्रवार पक्राउ गरेको थियो । बोक्सीको आरोपमा कुटपिट गर्ने मध्येकी एक किस्मती चौधरी लाई जिल्ला प्रहरी कार्यालयले आज बिहान मात्र उनकै घरबाट पक्राउ गरेको छ भने पीडित युवतीको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भईरहेको छ ।