सबै द्वन्द्व पिडितलाई तत्काल राहत र रोजगारी दिन्छौं :प्रचण्ड
गोरखा – सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका प्रतिनिधिमूलक घटनामा कारबाही गरेर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याइने बताएका छन् ।
विपक्षी दलका नेता शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो लगातार छलफल भइरहेको भन्दै उनले शान्ति प्रक्रिया टुंग्याउन र विकासमा मिलेर काम गर्ने बताए ।
मंगलबार गोरखामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सत्य निरुपण र मेलमिलाप तथा वेपत्ता छानबिन आयोेगले काम गरेको भए पनि कछुवा गतिमा रहेका बताए ।
अब सत्य पत्ता लगाउने र मेलमिलाप गराउने गरी शान्ति प्रक्रियाका बाँकी सबै काम टुंग्याइने उनले बताए । ‘त्यतिबेला युद्वद्वारा क्षति भएका परिवार, चाहे ती माओवादी हुन्, चाहे कांग्रेस हुन्, चाहे पुलिस सेना हुन्, चाहे अरु पार्टीका हुन्, सबैलाई परिपूरण दिने र पीडितहरुलाई मलम पट्टी लगाएर मेलमिलाप कायम गर्ने आयोगको काम हो,’ उनले भने ।
मानवीय अपराधका केही प्रतिनिधिमूलक घटनामा भने दोषीलाई कारबाही पनि गरिने उनले बताए । ‘साह्रै ठूला मानवीय अपराध भएका छन् भने केही प्रतिनिधिमूलक घटनाहरुलाई कारबाही पनि गर्ने गरेर सामाजिक मेलमिलाप कायम गर्नेतिर हामी अगाडि बढेका छौं’ उनले भने, ‘म शहीद, वेपत्ता र युद्धद्वारा पीडित परिवार सबैलाई म भन्न चाहन्छु, छिट्टै यो काम टुंगिँदैछ ।’
नेकपा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुंग्याउने क्रममा अब गरिने काम पनि बेलिविस्तार लगाएका छन् । उनका अनुसार राजनीतिक परिर्वतनमा योगदान गरेको भनेर पीडित परिवारलाई परिचय पत्र दिइनेछ ।
पीडितलाई क्षतिपूर्ति दिन चाहिने रकम सहयोग गर्न अन्तराष्ट्रिय समुदाय तयार रहेको उनले बताए । ‘अस्ती दिएको राहत हो १० लाख । अब क्षतिपूर्ति दिनुपर्ने हुन्छ’, उनले भने, ‘अर्को प्रत्येक पीडित परिवारका कम्तीमा एक जनालाई रोजगारी ।’