प्रहरी पेट्रोल पम्पमा ५ करोड हिनामिना, सर्वेन्द्र खनाल हुँदा धेरै अनियमितता
प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन। कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ।
पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो।
‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो।
यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन्। याे खबर नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।
असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन्। त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ।
सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ। त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ ।
प्रहरी पेट्रोल पम्पमा भएको अनियमितताको यो पहिलो छानबिन होइन। यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ।
पेट्रोल पम्पमा व्यापक अनियमितताको आशंकामा प्रहरी प्रधान कार्यालयले ०६६ मा तत्कालीन एसएसपी उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानबिन समिति बनायो। समितिले पेट्रोल पम्पमा करिब पाँच करोड भ्रष्टाचार भएको भन्दै प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई प्रतिवेदन बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा थप छानबिन गरी तीन वर्षपछि अर्थात् २८ असार ०७० मा अख्तियारले भ्रष्टाचार ठहर गरी विशेष अदालतमा मुद्दा चलायो। दुई करोड ३९ लाख घोटाला भएको भन्दै आयोगले पाँचजनाविरुद्ध मुद्दा चलाएको थियो।
इन्स्पेक्टर जोगलाल डंगोल, सइहरू पुष्पबहादुर वली, आनन्द रोका, डोरबहादुर राई र नयनबहादुर बोहराविरुद्ध मुद्दा चलेको थियो । छानबिनका क्रममा उच्च अधिकारीको समेत मिलेमतो देखिएको थियो, तर सानालाई कारबाही गरेर ठूलालाई जोगाइएको थियो । ‘०६७ अघि प्रहरी पेट्रोल पम्पको कुनै हिसाबकिताब नै हुने गरेको थिएन,’ एक उच्च प्रहरी अधिकारी भन्छन्, ‘अहिले हिसाबकिताब हुन्छ, तर भ्रष्टाचार रोकिएको छैन।’
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले प्रहरी पेट्रोल पम्पमा भएको अनियमितता विगतकै भएको र प्रहरीले नै त्यसको छानबिनमा सक्रियता देखाएको बताए। ‘यो अहिले भर्खरको भ्रष्टाचार होइन, तर जहिलेको भए पनि गम्भीर छानबिन हुन्छ, दोषीलाई कारबाही हुन्छ,’ उनले भने। कल्याण कोषका पछिल्ला कारोबार पूर्ण रूपमा पारदर्शी रहेको उनको भनाइ छ ।