पेचिलो बन्दै मन्त्रिमण्डल पुनर्गठन: विवाद बढ्ने संकेत - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

पेचिलो बन्दै मन्त्रिमण्डल पुनर्गठन: विवाद बढ्ने संकेत



काठमाडौं- पाँच दिनदेखि लगातार बालुवाटारमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल आज पनि निष्कर्षविहीन बनेकोे छ ।

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड मन्त्रिमण्डल पुनर्गठनकै बिषयमा रहेर भएको छलफलमा सहमति जुट्न नसकेपछि फेरि पार्टीमा विवाद बढ्ने देखिएको छ ।

मन्त्रिमण्डल पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउनेलगायतका विषयमा गत बिहीबारदेखि ओली-प्रचण्ड निरन्तर छलफलमा छन् ।

मंगलबार पनि प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको तीन घन्टा लामो छलफल निष्कर्षविहिन बनेको छ ।

विभिन्न विकल्प सहित भएको छलफलमा पनि सहमति जुट्न नसकेपछि छलफल निष्कर्षविहीन बन्न पुगेको हो ।

मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटी, मन्त्रीको जिम्मेवारी हेरफेरका विषयमा अध्यक्षद्वयबीच कुरा नमिलेपछि पछिल्ला छलफल निष्कर्षविहीन बनेका छन् ।

६ असोजमा बसेको सचिवालय बैठकले संवैधानिक अंगमा नियुक्त हुन योग्य व्यक्तिहरूको सूचीका लागि रोस्टर बनाउने, दश दिनभित्र एकीकरणको बाँकी काम सम्पन्न गर्न गृहकार्य गर्ने गरी ओली र प्रचण्डलाई जिम्मेवारी दिएको थियो ।

त्यसअघि ४ असोजमा बसेको सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका नीतिगत आधारमा केन्द्रित रहेर छलफल भएको थियो ।